नेभिगेसन मेनु

दसैंमा सहुलियत पसल,किलोमा १० रुपैयाँसम्म छुट
सम्पादक:南亚网络电视
समय:2024-09-12 13:59

dasai

एसएटीभी,२७ भाद्र, काठमाण्डौंः दसैं, तिहार र छठपर्व लक्षित गरी सहुलियत पसल सञ्चालन हुने भएको छ । यस्ता पसलमा सर्वसाधारणले सामान हेरी २ रुपैयाँदेखि १४० रुपैयाँसम्म छुट पाउने छन् । वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटीका अनुसार सहुलियत पसल असोज ७ देखि सञ्चालन हुँदैछन् ।

‘यस्ता पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थानले छुट दिने छन्,’ उनले भने ।

खाद्य र साल्टले आफ्नो गोदाम/आउटलेटमा मात्र पसल सञ्चालन गर्दै आएका छन् । यी संस्थाको आउटलेट पनि सुगममा मात्र केन्द्रित छन्, जसले गर्दा दुर्गमका सर्वसाधारणले सहुलियत पसलबाट सुविधा पाउँदैनन् । मन्त्रालयले उपलब्ध गराएको विवरणले पनि सहुलियत पसल सुगममै केन्द्रित रहेको देखिन्छ । खाद्यले ४२ जिल्लासहित ६३ स्थानबाट छुट दिने भनेको छ । तर खाद्यको धेरै गोदाम सुगम क्षेत्रमा केन्द्रित छन् ।

कम्पनीले खाद्यवस्तुअनुसार प्रति किलो ५ देखि १० रुपैयाँसम्म छुट दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जनाए । ‘वभिन्न बिक्री केन्द्रबाट १० ब्रान्डका चामल, दाल, गेडागुडी, तेल र घिउमा प्रतिकिलो १० रुपैयाँसम्म छुट दिन्छौं,’ आचार्यले भने, ‘कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी चामल, कागुनो, चिनो, उवा, तीते फापरमा पनि प्रतिकिलो ७ रुपैयाँ छुट हुन्छ ।’

यी खाद्यान्नबाहेक खसीबोका र च्यांग्रामा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिइने आचार्यको भनाइ छ । यसपालि खाद्यले १५ सय खसीबोका र ३ सय च्यांग्रा किन्ने लक्ष्य राखेको छ । यसका लागि करिब ४ करोड बजेट प्रस्ताव गरिएको उनले जनाए । साल्टले पनि काठमाडौंका ११ स्थानबाट छुट दिने जनाएको छ । उपत्यकाबाहेक २१ जिल्लामा रहेका आउटलेटबाट छुट दिइने साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले बताए ।

‘साल्टका आउटलेटबाट नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेलमा ७ रुपैयाँ, चिउरामा ७ रुपैयाँ, पिठो र मैदामा पनि प्रतिकिलो ७ रुपैयाँ छुट दिने निर्णय गरेका छौं,’ उनले भने, ‘आउटलेटबाहेक ३ वटा घुम्ती सेवा पनि सञ्चालन गर्नेछौं ।’

चाडबाडकै लागि दुग्ध विकास संस्थानले पनि छुट दिने योजना बनाएको छ । डीडीसीसँग दुग्धपदार्थ मौज्दात रहेकाले उसले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । खाद्य र साल्टले सञ्चालन गर्ने सहुलियत पसलबाट पनि दुग्धपदार्थको बिक्री वितरण गर्ने डीडीसीले जनाएको छ । सामान हेरी किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिइने डीडीसीका महाप्रबन्धक सूर्य पौडेलले बताए । ‘प्रतिलिटर दहीमा २५ रुपैयाँ, आइसक्रिममा ९० रुपैयाँ, पनिर (आधा किलो) मा २० रुपैयाँ र कञ्चन चिज केक प्रतिकिलोमा ९५ रुपैयाँ छुट छ,’ पौडेलले भने, ‘सबैभन्दा बढी याक चिजमा किलोको १ सय ४० रुपैयाँसम्म छुट दिएका छौं ।’

मोजरेलामा ६० रुपैयाँ, प्रतिबट्टा रसबरीमा २० रुपैयाँ, क्यान रसबरीमा ४० रुपैयाँ र प्रतिबट्टा लालमोहनमा २० रुपैयाँ छुट दिने पौडेलको भनाइ छ । प्रतिबट्टा पेडामा२० रुपैयाँ, प्रतिबट्टा घिउमा ७५ रुपैयाँ, खुला मखनमा ६५ रुपैयाँ, २ सय मिलिग्राम फ्रेस मिल्कमा १० रुपैयाँ र ३ सय मिलिलिटर स्ट्रबेरी लस्सीमा १० रुपैयाँ छुट दिने पौडेलले जनाए । चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, ढुवानी र आपूर्ति सहजीकरणका लागि गृह मन्त्रालयले सहजीकरण गर्ने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर