नेभिगेसन मेनु

जागिरसँगै समाजसेवा
सम्पादक:南亚网络电视
समय:2024-05-06 12:17

Untitled-1 (1)

वीरेन्द्रनगर नगरपालिका–१० निवासी ४५ वर्षीय सीता शर्मा पेसाले सिनियर अनमी निरीक्षक हुनुहुन्छ । २०६० सालमा अनमीबाट सरकारी सेवा सुरु गरेपछि उहाँमा सेवासँगै समाज सेवालाई पनि अगाडि बढाउने चाहना जागृत भयो । सुरुमै सुर्खेतकै प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङमा पुगेपछि धेरै ग्रामीण महिला तथा किशोरीहरूको उपचार गर्नुभयो । उपचारका क्रममा उहाँले ग्रामीण महिलामा पाठेघर खसेको, रोग पालेर बसेको जस्ता समस्या देख्नु भयो । त्यति मात्र होइन, भर्खरका किशोरीमा पनि पाठेघरप्रति ज्ञान नभएको महसुस गर्नुभयो । अवलचिङका साथै सल्यान तथा सुर्खेतकै वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकामा पनि काम गर्ने क्रममा पाठेघरको बारेमा धेरै कुरा बुझिसकेपछि पाठेघरको क्यान्सरबाट बच्नका लागि महिनावारी सरसफाइ अभियान नै उहाँले चलाउनुभयो । 

एकल रूपमा थालिएको सो अभियान वीरेन्द्रनगरमा यसरी सफल भयो कि पछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नो नीति नै बनाई कार्यक्रम र बजेटको व्यवस्थापन ग¥यो । २०७५ सालमा उहाँ वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखामा काम गर्न थाल्नुभयो । आफ्नो कामसँगै उहाँले वीरेन्द्रनगरका हरेक विद्यालयमा पुगेर महिनावारी सरसफाइबारे किशोरीहरूलाई सचेतना दिँदै हिँड्नुभयो । बिहान १० देखि ५ बजेसम्मको कार्यालय ड्युटी सकेर उहाँ विद्यालय विद्यालयमा महिनावारी सरसफाइबारे किशोरीहरूलाई ज्ञान बाँड्दै हिँड्नुभयो । अहिलेसम्म उहाँले चार दर्जनभन्दा बढी विद्यालयका हजारौँ किशोरीलाई महिनावारी सरसफाइबारे जानकारी दिइसक्नुभयो । विद्यालयका किशोरीहरू मात्र होइन, सहकारी, महिला समूह, आमा समूहमा पनि पुगी उहाँले पाठेघरको क्यान्सरबाट बच्न महिनावारी सरसफाइबारे जानकारी दिइरहनुभएको छ । यो अभियान अहिलेसम्म पनि जारी छ । 

पाठेघर जस्तो संवेदनशील अङ्गको सरसफाइबारे व्यक्तिगत तथा संस्थागत कसैको पनि ध्यान पुग्न सकेको थिएन । स्वयम् महिलाले पनि महिनावारी हुँदा व्यक्तिगत रूपमा सरसफाइमा ध्यान नदिएको, सेनिटर प्याड र त्यो नभए अर्को विकल्पबारे व्यवस्थापन गरिएको पाउनुभएन । किशोरीहरू महिनावारी हुँदा विद्यालय जान नसकेको, लाज र डरले विद्यालय छोड्ने, शौचालयमा पनि प्याड तथा पानीको व्यवस्था नहुँदा करिब सात दिन पढाइ छुट्ने गरेको थियो । अरूलाई भनेपछि लाज हुन्छ, बेइज्जत हुन्छ भन्ने त्रासले जति पीडा भए पनि महिलाले सहेर बस्ने गरेका थिए । यी सबै कारणले महिनावारी सरसफाइ अभियान नै सुरु गर्नु पर्छ भन्ने सोच पलाएको उहाँले बताउनुभयो । 

अभियान उहाँले एकल रूपमा थाल्नुभयो । स्वास्थ्यकर्मी भएको नाताले अभियानमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी विषय सबै उहाँसँगै हुन्थ्यो । स्कुटर दौडाएर विद्यालय पुगी उहाँले महिनावारी सरसफाइबारे कक्षा लिनुभयो । कसैको सहयोगको अपेक्षा नगरी उहाँले यो अभियान निःशुल्क रूपमै थाल्नुभयो । फुर्सदको समयलाई व्यवस्थापन गर्दै वीरेन्द्रनगरभित्रका चार दर्जनभन्दा बढी विद्यालयका हजारौँ किशोरीलाई शर्माले महिनावारी सरसफाइबारे सचेतना बाँड्नु भयो । सो क्रममा उहाँले विवाह, परिवार नियोजन, प्रजनन स्वास्थ्य, पाठेघर खस्ने समस्या, संस्कार र अनुशासन, लागुऔषध नियन्त्रणसम्बन्धी धेरै विषयबारे जानकारी दिनुभयो । उहाँको यो अभियानबाट प्रभावित भएर वीरेन्द्रनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालले महिनावारी सरसफाइसम्बन्धी नीति नै बनाउनुभयो । 

नीति बनाएपछि नगरपालिकाले प्रत्येक विद्यालय र स्वास्थ्य संस्थाहरूमा निःशुल्क रूपमा सेनिटरी प्याड राख्ने व्यवस्था मिलायो । त्यसका लागि आवश्यक बजेटको प्रबन्ध ग¥यो । किशोरी तथा महिलाको पाठेघर जस्तो संवेदनशील अङ्गप्रति ध्यान दिन, पाठेघरको मुखको क्यान्सरको पहिचान गर्न पनि नगरपालिकाले अग्रसरता लियो । नगरका तत्कालीन उपप्रमुख ढकाल अहिले वीरेन्द्रनगर नगरपालिकाकै प्रमुख हुनुहुन्छ । उहाँले पनि विगतमा व्यवस्थापन गरिएको निःशुल्क सेनिटरी प्याडको व्यवस्थालाई अहिले पनि निरन्तरता दिनुभएको छ । महिला र बालबालिकाका लागि छुट्टैै अस्पतालसमेत निर्माण गरिएको छ । यो सबै महिनावारी सरसफाइ अभियानको सफलताको रूपमा लिन सकिने शर्मा बताउनुहुन्छ । 

यो अभियान उहाँले आफू जुन पालिका सरुवा हुनुहुन्छ, त्यहाँ पनि निरन्तरता दिनुभएको छ । अहिले भेरीगङ्गा नगरपालिकामा सरुवा भएपछि त्यहाँका विद्यालय, आमा समूहमा पनि उहाँले किशोरी तथा महिलालाई महिनावारी सरसफाइसम्बन्धी सचेतना दिइरहनुभएको छ । अहिलेको कार्यक्षेत्र अलि विकट भएकाले पर्याप्त मात्रामा अभियान सञ्चालन हुन नसके पनि खाली समयमा उहाँले किशोरी र महिलालाई भेला गरी पाठेघरको सरसफाइबारे संवेदनशील हुन आग्रह गरिरहनुभएको छ ।

हेर्दा सामान्य लाग्ने अभियान भए पनि यसको प्रभावकारिता निकै ठुलो रहेको छ । जब उहाँले विद्यालय विद्यालयमा पुगेर महिनावारी सरसफाइ अभियान सञ्चालन गर्नुभयो, तब सञ्चार माध्यममा पनि छिटफुट चर्चा हुन थाल्यो । त्यसपछि त सुर्खेतका सामाजिक सङ्घ संस्था, सहकारी र अन्य विद्यालयले पनि उहाँलाई त्यसबारे सचेतना दिन बोलाउन थाले । यतिसम्मकी कसैले त उहाँलाई सोबापत पारिश्रमिक पनि दिन थाले तर उहाँले निःशुल्क अभियानलाई नै प्राथमिकता दिनुभयो । 

मुस्लिम बस्तीमा परिवर्तन

त्यसअघि पनि उहाँले परिवार नियोजन गर्न नहुने मान्यता बोकेका मुस्लिम समुदायमा पनि पुगेर यसबारे सचेतना दिई परिवर्तन गराउने सफलता प्राप्त गरिसक्नुभएको थियो । वीरेन्द्रनगर नगरपालिका–१० मा मुस्लिम समुदायको बसोबास छ । सो समुदायमा परिवार नियोजन गर्न नहुने, अस्थायी तथा स्थायी साधन प्रयोग गर्न नहुने भन्ने मान्यता छ । महिलाले धेरै काम गर्नुपर्ने र धेरै बच्चा जन्माउँदा उनीहरूको शारीरिक अवस्था कमजोर हुने गर्छ । यस्तो अवस्था भएपछि उहाँले त्यहाँका एक÷दुई जना महिलालाई लुकेर सम्झाउने बुझाउने प्रयास गर्नुभयो । भित्रभित्रै लुकेर परिवार नियोजनका साधन अपनाउन प्रेरित गर्नुभयो । उनीहरूका श्रीमान्हरूले पनि यो थाहा पाएनन् । धेरैपछि श्रीमान्हरूले पनि थाहा पाए तर सकारात्मक प्रतिक्रिया पाएपछि उहाँमा हौसला बढ्यो । अहिले धेरै मुस्लिम महिला स्वास्थ्य संस्थामा आएर कुरा बुझ्ने, स्वास्थ्यप्रति सचेत रहने गरेका छन् । उहाँलाई मुस्लिम समुदायले सम्मान र आदर गरेको छ । लुकी लुकी गरेको सचेतनाले व्यापक परिवर्तन आएपछि आफूलाई आत्मसन्तुष्टि मिलेको उहाँको भनाइ छ । 

अभियानले दिलाएको सुखी

कुनै पारिश्रमिक र चर्चामा आउन थालेको भन्दा पनि समाज सेवा गर्ने ठुलो चाहनाले अभियान थालेको शर्मा बताउनुहुन्छ । यद्यपि काम गर्दागर्दै यही अभियानका क्रममा उहाँ इन्टिग्रिटी आइडल २०१७ मा उत्कृष्ट १० र २०१८ मा उत्कृष्ट पाँचभित्र पर्न सफल हुनुभएको थियो । इन्टिग्रिटी आइडलमा छनोटमा पर्नुको मुख्य कारण नै महिनावारी सरसफाइ अभियान नै भएको उहाँको धारणा छ । हेर्दा सामान्य अभियान भए पनि यसले किशोरी र महिलामा पारेको प्रभाव अहिले पनि उत्तिकै महìवपूर्ण छ । अहिले पनि बाहिर कतै निस्कँदा महिला तथा किशोरीले महिनावारी सरसफाइबारे जिज्ञासा राख्ने गरेको, फोनबाट पनि जानकारी लिने गरेका छन् । त्यति मात्र होइन, पालिका पालिकामा पनि महिनावारी सरसफाइबारे स्वास्थ्य उपशाखाहरूका कर्मचारीले पनि शर्माबाटै पाठ्यक्रम लिएर सचेतना दिने काम गरेका छन् । उहाँले पनि सहर्ष रूपमा सहयोग गरिरहनुभएको छ । आफूले थालेको अभियान जिल्लाका अन्य पालिकामा पनि विस्तार हुन लागेकोमा खुसी व्यक्त गर्दै यो अभियानको लाभ विशेष गरी किशोरी र महिलाले लिनुपर्ने उहाँको ठम्याइ छ । 

सबैमा आएको सकारात्मक परिवर्तनले आफूलाई अलौकिक आत्मसन्तुष्टि मिलेको शर्माको अनुभव छ । अभियान बाँचुन्जेल र सम्भव भएसम्म जारी नै राख्ने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ । अभियानको एक्लो सारथि शर्मा महिनावारी सरफाइका क्षेत्रमा जिल्लामै अरूका लागि अनुकरणीय र प्रेरक बन्नुभएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर