नेभिगेसन मेनु

कर्णाली प्रदेशमा त्रिचालिस प्रतिशत रोपाइँ
सम्पादक:南亚网络电视
समय:2023-07-02 12:58

Untitled-2 (1)

सुर्खेत, असार १७ गते । कर्णाली प्रदेशका विभिन्न जिल्लामा हालसम्म ४३ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्याङ्क अनुसार सुर्खेतमा २५ र जुम्लामा ९० प्रतिशत रोपाइँ भएको छ ।

सो निर्देशनालयका निमित्त प्रमुख चित्रबहादुर रोकायाले यो अवधिसम्म प्रदेशभर ४३ प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको बताउनुभयो । कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा ९० प्रतिशत र तल्लो क्षेत्रका सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा हालसम्म ३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । 

गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा वृद्धि भएको निर्देशनालयले जनाएको छ । गत वर्षको यो अवधिमा करिब २८ प्रतिशत रोपाइँ भएको थियो । धान रोपाइँको जिल्लागत तथ्याङ्क हेर्दा दोस्रोमा डोल्पा जिल्ला परेको छ । यहाँ ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दैलेखमा ३०, रुकुमपश्चिममा ३५, जाजरकोटमा २७, सल्यानमा ४०, मुगुमा ४५, कालीकोटमा ४२ र हुम्ला जिल्लामा ६५ प्रतिशत रोपाइँ भएको छ ।

सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ । मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानहरूलाई समयमै धान रोप्न समस्या भएको बताइएको छ । सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा अझै रोपाइँ हुन सकेको छैन । कर्णालीका केही जिल्लामा यो वर्ष चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइँ थालिएको थियो । यहाँको ६० प्रतिशत जमिन आकाशे पानीको भरमा छ । 

यस वर्ष सिँचाइका कारण रोपाइँमा ढिलाइ भएको भए पनि रासायनिक मल भने विगतका वर्षहरूमा जस्तो अभाव नरहेको निर्देशक रोकायको भनाइ छ । कर्णालीको कुल गार्हस्थ उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । प्रदेशमा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । 

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये दुई लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ ।

त्यसमध्ये पनि दुई लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ । १० हजार २६८ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशक रोकायाका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्षभरि सिँचाइ सुविधा पुग्ने गरेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल जमिनमा आंशिक रूपमा सिँचाइ सुविधा उपलब्ध छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर