नेपालगन्ज, जेठ ९ गते । गर्मी बढेसँगै बाँकेमा अघोषित विद्युत् कटौती बढ्न थालेकाले उद्योग व्यवसाय सञ्चालनमा समस्या हुन थालेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गत केही समयदेखि जिल्लामा विद्युत् अनियमित र अघोषित रूपमा कटौती हुन थालेकाले उद्योगी व्यवसायी सबैभन्दा बढी मारमा परेको गुनासो चारैतिरबाट आइरहेको बताउनुभयो ।
उहाँले बिनाकुनै सूचना दिनमा दर्जनौँ पटक विद्युत् कटौती भइरहेकाले उद्योग व्यवसाय सञ्चालनमा अवरोध भइरहेको र उत्पादनसमेत निकै घट्दै गएको जानकारी आएको बताउनुभयो ।
स्थानीय उद्योगी टङ्क धामीले यसरी नै विद्युत् अनियमित हुने र भोल्टेजसमेत कहिले बढी र कहिले निकै कम आउने हो भने उद्योगका लाखौँ मूल्य पर्ने मेसिनसमेत बिग्रने बताउनुभयो ।
उहाँले विद्युत् समस्याकै कारण अहिले उत्पादन निकै कम हुन थालेपछि व्यापार पनि निकै प्रभावित भएको बताउनुभयो ।
बाँकेको विद्युत्लाई तत्काल नियमित नगरिए आन्दोलन गर्ने चेतावनी उद्योगी व्यवसायीका विभिन्न सङ्घ सङ्गठनले दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले अवस्था यस्तै रहने हो भने विद्युत् प्राधिकरणविरुद्ध सडकमा ओर्लनुको विकल्प नरहेको जनाउँदै त्यसको चेतावनी दिइसकिएको बताउनुभयो ।
उहाँले विद्युत् समस्याकै कारण अहिले जिल्लाका अधिकांश ठुला उद्योगको उत्पादनमा प्रभाव परिसकेको जनाउँदै उद्योग कलकारखाना निकै कम मात्र चल्ने गरेको बताउनुभयो ।
यस्तै नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले पनि नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जमा विद्युत् नियमित गर्न ७२ घण्टे अल्टिमेटमसहित चेतावनीपत्र बुझाएको छ ।
विद्युत् प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर हरिप्रसाद पाण्डेले विद्युत् आपूर्तिमै समस्याका कारण कटौती गर्नु परेको जनाउँदै त्यसलाई कम गर्न आफूहरू अहरोत्र खटिएको बताउनुभयो ।