नेभिगेसन मेनु

ऋण लिएर बनाइएका संरचना प्रयोगविहीन
सम्पादक:南亚网络电视
समय:2023-05-10 13:09

Untitled-1 (7)

विश्व बैङ्कसँग ऋण लिएर बनाएको ऐतिहासिक संरचना अलपत्र बनेका छन् । तानसेन नगरपालिकाले ११ वर्षअघि विश्व बैङ्कसँग ऋण लिएर बनाएको नारायणस्थान फूलबारीको ऐतिहासिक संरचना केही वर्षदेखि अलपत्र बनेका छन् । 

नगरपालिकाले उक्त संरचनाको उपयोग र संरक्षण गर्न नसक्दा ऋण लिएर बनाएका संरचना जीर्ण बनेका हुन् । नारायणस्थान वरपरका ऐतिहासिक संरचनालाई मर्मत सुधार गरेर पर्यटकलाई आकर्षित गर्ने नगरपालिकाको योजना थियो तर उक्त स्थानमा बनेका ऐतिहासिक पाटी, पौवा, शौचालय, स्नान घरलगायतका संरचना प्रयोग हुन सकेका छैनन् ।  

विश्व बैङ्कसँग तीन करोड ८० लाख रुपियाँ ऋण लिएर वि.सं. २०६९ चैत ८ गतेदेखि तीन स्थानका ऐतिहासिक संरचना बनाउन सुरु गरिएको थियो । ढिला गरी निर्माण सम्पन्न भएको संरचना हाल प्रयोगहीन बनेको स्थानीय बासिन्दाको भनाइ छ । 

निर्माण व्यवसायीले पुराना र जीर्ण संरचनाको निर्माण तथा मर्मतसुधार गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको चार वर्ष बितिसकेको छ तर निर्माण भएका संरचनाको प्रयोग र रेखदेख हुन नसक्दा ती संरचना जीर्ण बनेको तानसेनका स्थानीय बासिन्दा राजेन्द्रगोपाल सिंहले बताउनुभयो । नगरपालिकाले ऐतिहासिक नारायणस्थान वरपरको फूलबारीलाई प्रयोगमा ल्याउन नसक्दा पाटी, पौवा, विश्रामस्थल, शौचालय भत्किएको उहाँले बताउनुभयो । 

फूलबारीमा पिकनिक स्थल, अस्थायी संरचना बनाएर साना कफी सप तथा खाजाघर, विश्राम स्थल बनाउन सकिन्छ । यति मात्र होइन गर्मीको मौसममा आराम गर्ने स्थान, विवाह मण्डप तथा हाटबजारका लागि समेत फूलबारी प्रयोग गर्न सकिने तानसेनका इतिहासका जानकारी निर्मल श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विश्व बैङ्कसँग ऋण लिएर बनाएको संरचनालाई प्रयोगमा नल्याई नगरपालिकाले अलपत्र छाड्नु दुःखद कुरो हो ।” बनेका संरचनालाई उपयोग गरेर नगरपालिकाले आम्दानी गर्ने र यसको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । 

तानसेन नगरपालिकाले भने नारायणस्थान फूलबारीलाई प्रयोगमा ल्याउने विषयमा हालसम्म योजना बन्न नसकेको जनाएको छ । फूलबारीलाई कुन रूपमा प्रयोग गर्ने भन्ने हालसम्म कुनै योजना नबनेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, “नारायणस्थानका संरचना र जग्गालाई कसरी प्रयोग गर्ने भन्ने हालसम्म कुनै निर्णय हुन सकेको छैन ।” नगरपालिकाले मात्र होइन, नारायणस्थान गुठी व्यवस्थापन समितिले समेत यसको रेखदेख र उपयोग गर्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ । 

दस वर्षअघि बनेका पाटी, पौवा, शौचालय, प्यारापिट तथा अन्य संरचनाको उचित संरक्षण हुन सकेको छैन । पाँच वर्षअघि ऐतिहासिक संरचना बनाउँदा लापरबाही गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । नारायणस्थान मन्दिर सेना वंशको पतनपछि विसं १८६३ मा मुख्तियार अमरसिंह थापाले बनाउन लगाएका थिए । नारायणस्थान मन्दिरभित्रका टुँडालमा कला संस्कृतिका आकृति कोरिएका छन् । जसले दर्शनार्थी र अवलोकनकर्तालाई आकर्षित गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर