काठमाडौं महानगरपालिकाभित्र पनि वैशाखदेखि सडकबत्ती राख्न सुरु गरिने भएको छ । राष्ट्रिय सडकबत्ती प्रवर्द्धन आयोजनाका प्रमुख प्रमोद रिजालले वैशाखदेखि सडकबत्ती राख्ने काम सुरु हुने जानकारी दिए । ‘हामीले आशयको सूचना निकालिसकेका छौँ । अब त्यसमा कसैको उजुरी परेन भने सम्झौता गर्छौँ । र, वैशाखबाट निर्माण कार्य नै थाल्छौँ,’ उनले भने ।
यो योजना एक वर्षमा सम्पन्न हुनेछ । महानगरभित्र सडकबत्ती राख्न महानगर र नेपाल विद्युत् प्राधिकरणबीच गत माघ २४ गते सम्झौता भएको थियो । सडकबत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ रुपैयाँ लाग्नेछ । जसमध्ये ६० प्रतिशत रकम महानगर र ४० प्रतिशत रकम विद्युत् प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार महानगरको लगानीमा लैनचौरदेखि महाराजगन्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतलनिवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म बत्ती जडान गरिनेछ । प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तिनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेलवरिपरि बत्ती जडान हुने सम्झौतामा उल्लेख छ । निर्माण सम्पन्न भएपछि सञ्चालन र व्यवस्थापनका लागि महानगरलाई हस्तान्तरण हुनेछ ।
हाल ललितपुर महानगरपालिकाले २० भन्दा बढी स्थानमा स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको छ । तर, काठमाडौं महानगरमा भने उक्त कार्य रोकिँदै आएको थियो । महानगरले बल्ल अघि बढाउन लागेको छ । पछिल्लो समय महानगरभित्रका अधिकांश सडक रातिको समयमा अन्धकार हुने गरेका छन् । कतिपय ठाउँमा भएका सडकबत्ती पनि मधुरा भइसकेका छन् ।
ट्राफिक बत्ती मर्मत सुरु
काठमाडौं उपत्यकाका विभिन्न चोक र सडकमा रहेका ट्राफिक बत्तीको मर्मत सुरु भएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले १९ वटा चोकमा ‘अपरेसन एन्ड मेन्टेनेन्स’ कार्यक्रमअन्तर्गत मर्मत अघि बढाएको हो । विभिन्न समयमा जडान भएका यी ट्राफिक बत्ती निरन्तर मर्मत भइरहेको शाखाकी इन्जिनियर आश्मा न्यौपानेले बताइन् । उनका अनुसार अहिले बानेश्वर, तिनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ । काठमाडौं उपत्यकामा चालू आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इन्जिनियर न्यौपानेले जानकारी दिइन् । शाखाले चालू आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलंकीमा ट्राफिक बत्ती जडान गरिसकेको छ ।