नेभिगेसन मेनु

घूस संवादमा अख्तियारले थाल्यो अनुसन्धान
सम्पादक:南亚网络电视
समय:2023-04-11 13:37

thumb (2)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादमा अख्तियारले अनुसन्धान अघि बढाएको छ । स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन प्रसाईंलाई आग्रह गरेको अडियो सार्वजनिक भएको थियो ।

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक प्रसाईंको कलेजको सम्बन्धनको प्रक्रिया रोकिएको छ, त्यस्तै उनको अस्पतालले उपचार बिमामार्फत दाबी गरेको १४ करोड रुपैयाँमा प्रश्न उठेकाले भुक्तानी भएको छैन । प्रसाईंका काम गराइदिने र मिलेर देश बनाउने भन्दै सांसद श्रेष्ठले घूस मागेको अडियो आइतबार कपूरबोट टीभीले सार्वजनिक गरेको थियो । यो अडियोबारे सार्वजनिक बहस सुरु भएसँगै अख्तियारले अनुसन्धान थालेको हो ।

घूस संवादबारे अख्तियारका पदाधिकारीबीच सोमबार छलफल भएको थियो । त्यसक्रममा पदाधिकारीले मिहिन अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए । घूस प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने अख्तियारको निष्कर्ष छ । ‘सञ्चारमाध्यममा प्रकाशित, प्रसारित समाचारलाई पनि सार्वजनिक उजुरी मानेर भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्छौं,’ अख्तियारका एक अधिकारीले भने, ‘मन्त्री बन्न आफ्नै दलको नेतृत्वलाई पैसा बुझाउनुपर्ने भएको र रकम जोहो गरिदिन एक सांसदले मेडिकल व्यवसायीलाई गरेको अनुरोधलाई नोटिसमा लिएर आयोगले अनुसन्धान अघि बढाएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले नाजायज रकम लेनदेन गरेको वा प्रयास गरेको विषय भ्रष्टाचारजन्य कसुरमा पर्छ, यसबारे पक्कै पनि हामी तथ्य र प्रमाणबमोजिम एउटा निचोडमा पुग्छौं ।’

घुस प्रकरणमा जोडिएका रास्वपाका सांसद श्रेष्ठ पार्टीबाट निलम्बित

अख्तियारका प्रवक्ता भोला दाहालले पनि सञ्चारमाध्यममा आएका विषयलाई सार्वजनिक उजुरीका रूपमा ग्रहण गरिँदै आएको बताए । ‘विभिन्न माध्यमबाट आएका सूचना र जानकारीलाई उजुरीका रूपमा लिएर अख्तियारले अनुसन्धान गर्छ,’ उनले भने । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम श्रेष्ठमाथि अनुसन्धान अघि बढाएको हो ।

यसअघि अख्तियारले यस्तै अडियोका आधारमा आफ्नै आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व निजी बनाइदिने सर्तमा सञ्चालक लम्बोदर न्यौपानेसँग आयुक्त पाठकले घूस मागेको अडियो कान्तिपुरसहित विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । त्यसैलाई सूचना मानेर अख्तियारले गरेको अनुसन्धानका आधारमा २०७५ चैत १२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर