नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले एउटा विवादास्पद अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सन्दर्भमा संसदीय समिति गठन गरेर छानबिन गर्नु पर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गुरुङले संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गरेका हुन्।
‘त्यो वार्तामा (आडियोमा) भनिएको छ कोर टिमलाई बुझाउनु पर्छ। त्ये कोर टिम भनेको को हो? त्यसको पनि छानबिन गर्नु पर्दैन? त्यसकारण यसको छानबिनको लागि आज यो संसद् भित्रको एउटा प्रतिनिधि सभाको सदस्यले गरेको वार्ताको सन्दर्भमा, भ्रष्टचारको सन्दर्भमा यो संसद् चुप लागेर बस्नु हुँदैन,’ गुरुङले भने,‘त्यसकारण आजको यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न म माग गर्दछु।’
सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको एक अडियो संवाद आइतबार सार्वजनिक भएको थियो। अडियोमा मन्त्री बन्नलाई पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै श्रेष्ठले प्रसाईसँग दुई करोड पैसा मागेको सुनिन्छ। उक्त अडियो सार्वजनिक भएसँगै रास्वापले श्रेष्ठलाई निलम्बन गरेर छानबिन गरिरहेको छ।