नेभिगेसन मेनु

धामी-झाँक्रीको भर पर्दा गर्भवतीको ज्यान गुम्यो
सम्पादक:南亚网络电视
समय:2023-03-25 14:18

sdh

स्याउले (गोदावरी), चैत ११ गते । धामी झाँक्रीको भर पर्दा कैलालीको गोदावरी नगरपालिका –८ स्याँउलेगाउँमा एक गर्भवती महिलाको ज्यान गएको छ । अस्वस्थ भएपछि घरमा धामीलाई बोलाएर झारफुकको भर गर्दा २२ वर्षीया कल्पना विकको ज्यान गएको हो । 

कल्पनाको परिवारका अनुसार फागुन ३ गते बिहान २ बजेतिर अस्वस्थ भएपछि उहाँलाई अस्पताल लग्नुको साटो धामीलाई घरमा बोलाएर उपचार सुरु गरिएको थियो । तर, धामीले कल्पनालाई निको पार्न सकेनन् । दिउँसो उनलाई करिब चार किलोमिटर टाढा रहेको गौरीगङ्गा नगरपालिका, बनबेहडामा अर्को धामीको घरमा पुर्‍याइयो । त्यहाँ पनि धामीले उनलाई निको पार्न सकेनन् । केही सीप नलागेपछि ३० घण्टापछि कल्पनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

स्याँउलेगाँउको ६ किलोमिटरको दूरीमा रहेको अत्तरियामा निजी अस्पतालहरू छन् । २० किलोमिटरको दूरीमा रहेको धनगढीमा प्रादेशिक अस्पताल र सुविधा सम्पन्न दर्जन बढी निजी अस्पताल छन् । छोटो रुटबाट धनगढी पुग्न भने १२ किलोमिटर छिचोल्नुपर्छ ।

मृतक कल्पनाका ससुरा प्रेम विकले बुहारीलाई जिब्रो बाहिर आउने, शरीर काप्ने, र्‍याल काँड्ने, झड्का आउने समस्या देखिएपछि छरछिमेकी सबैले “भूत लागेको” भनेपछि धामीको भरमा परेको बताउनुभयो ।

कल्पना गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्दै आउनु भएको थियो । अन्तिम पटकको स्वास्थ्य जाँचको बेला उहाँ अस्वस्थ हुनुभयो । उहाँले फागुन ४ गते स्वास्थ्य जाँच गर्नु पर्ने  थियो । तर, उहाँ ३ गते बिहान २ बजे नै बिरामी पर्नुभयो । दिनभरि धामीको भरमा पर्नु भएकी कल्पनालाई अस्पताल पुर्‍याउनु अघि नै उहाँको पेटको बच्चा (भ्रूण) मरेको बताइन्छ ।

कल्पनालाई सेती प्रादेशिक अस्पतालमा १७ दिनसम्म सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गरिएको थियो । उनको उपचारमा संलग्न डाक्टर खगेन्द्र भट्टले समयमैमा अस्पतालमा पुर्‍याइएको भए कल्पना र उनको बच्चालाई बचाउन सकिने बताउनुभयो ।

डाक्टर भट्टका अनुसार कल्पनाको ब्लड प्रेसर बढेको थियो । फोक्सो, कलेजो लगायतका अङ्गहरूले काम गर्न छोडेका थिए । उनको शरीर भरी व्याक्टोरिया भाइरस फैलिसकेको थियो । उहाँले भन्नुभयो– हामीले उनलाई बचाउन निकै प्रयास गर्‍यौ, तर सकेनौ ।

यातायात, स्वास्थ्य केन्द्रको पहुँच भएको कैलालीमा धाँमीझाक्री, औषधि नियमित नखाने, चेकजाँच नियमित नगर्ने, समयैमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका फोकल पर्सन रमा गिरीका अनुसार यस वर्ष कैलालीमा चार, अघिल्लो आर्थिक वर्षमा नौ र त्यो भन्दा अघिल्लो वर्ष २० जना गर्भवतीको समयमै उपचार नपाउँदा मृत्यु भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश भरी साउनदेखि फागुसम्ममा २१, २०७६/०७७ मा १९, २०७६/०७८ मा २४, २०७८/०७९ मा २१ जनाको गर्भवतीको ज्यान गएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत धर्मानन्द गिरीले जानकारी दिनुभयो ।

स्याउले गाउँका राजेश विक र कल्पनाको गत वैशाखमा मागी विवाह भएको थियो । राजेशले श्रीमतीको नियमित स्वास्थ्य जाँच गराएको बताउनुभयो । उहाँले भन्नुभयो– एक पटकको मात्र बाँकी थियो । म तीन साताअघि रोजगारीका लागि भारतको मुम्बई गए । घरमा यस्तो विपत्ति आइलाग्यो ।

उहाँले श्रीमती बिमारी भएको खबर पाएपछि उनी बिमारी परेको तीन दिनपछि धनगढी पुगेको बताउनुभयो । फागुन २० गते सुत्केरी हुने समय थियो । अस्पताल भर्ना भएको १७ दिनमा फागुन २१ गते हामीले कल्पनालाई गुमायौ राजेशले भन्नुभयो  ।

बिहेको एक वर्ष नपुग्दै ज्यान गयो

स्याउलेका राजेश विक र कल्पनाको ०७९ साल वैशाखमा मागी बिहे भएको थियो । राजेशले भन्नुभयो, बच्चाको लालन पालनमा सहयोग होला भनेर कमाउन गए तर यस्तो अवस्था भयो ।

सुरुमा अस्पतालको आइसियुको रुपियाँ तिर्नु पर्‍यो पछि विपन्न परिवार भनेर छुट त पाइयो तैपनि तीन लाख जति उपचारमा खर्च भयो राजेशले भन्नुभयो, श्रीमतीको ज्यान बच्ला कि भनेर ऋण सापटी गरेर त्यो रकम जम्मा गरेको थिए ।

सुख खोज्न आएको परिवारलाई जीवन धान्नै कठिनाइ

तराईमा काम पाइन्छ , परिवार पाल्न सजिलो हुन्छ भनेर चार वर्षअघि प्रेम विक श्रीमती, चार छोरा र एक छोरी बोकेर डोटीको बोगटान फुडसिल गाउँपालिका‐६ गगुडा कटिगाउँबाट कैलाली झर्नु भएको थियो ।

उहाँ स्याउलेमा चौकीदारी गर्नुहुन्छ । तर पाँच धुर ऐलानी प्रति जग्गा घर भएको उहाँको परिवारलाई घर चलाउन गाह्रो भएपछि तीन छोरालाई भारतको मुम्बई पठाउनुभयो । अहिले पनि घरमा बस्ने एक छोरा, एक छोरी, एक बुहारी, एक नातिनी र आफ्नो दम्पतीलाई छाक टार्न गाह्रो भएको उहाँ बताउनुहुन्छ ।

बुहारीको उपचार गर्दा ऋण लागेपछि अहिले साँझविहीनको छाप टार्ने खाद्यान्न नै नभएको उहाँको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर