
काठमाडौँ, भदौ १० गते । काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ । फोरमको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो ।
उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीन वटै तहका सरकारको साझा सरोकारको विषय भएको फोरमले निष्कर्ष निकालेको उहाँले बताउनुभयो । उहाँका अनुसार बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटको समय मिलाई फोहोर व्यवस्थापन, सडकबत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसँग हुने भेटमा भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यमाथि प्रतिनिधि सभा सदस्य आशिका तामाङबाट भएको व्यवहारप्रति घोर आपत्ति व्यक्त गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ ।
फोरमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विशेष गरी उपत्यकाभित्रको फोहोर व्यवस्थापन तिनै तहका सरकारको विषय हो भन्ने कुरा हामीलाई अवगत नै छ । यो विषयलाई दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार सदा कटिबद्ध रहेको बेहोरासमेत जानकारी गराउँछौँ ।”
संसदीय समितिमा छलफल हुने
काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले उपत्यकाको फोहोरमैला व्यवस्थापन सम्बन्धमा छलफल गर्न भदौ ११ गतेका लागि बैठक आह्वान गरेको हो ।
बैठकमा सङ्घीय सरकार र स्थानीय सरकारका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई आमन्त्रण गरिएको समितिका सभापति आशिष गजुरेलले जानकारी दिनुभयो ।


















