
काठमाडौँ, माघ ८ गते । नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदै समूह बी बाट सुपर सिक्समा स्थान बनाएको हो ।
नेदरल्यान्ड्स तीन खेलबाट ६ अङ्क बनाउँदै जोड्दै शीर्षस्थानमा रह्यो । लगातार दोस्रो हार खेपेको नेपालको सुपर सिक्स सम्भावना कमजोर बनेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँको क्षतिमा एक ४० रनको बनाएको थियो । एक सय ४१ विजयी लक्ष्य पाएको नेपालले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३८ रन बनाएको हो ।
नेपालको लागि पूर्व कप्तान रुबिना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन बनाउनुभयो । यससँगै रुविना टी-२० मा नेपाललाई एक हजार रन पूरा गर्ने खेलाडी समेत बन्नुभएको छ ।
सिता रानामगरले अविजिता २७ र बिन्दु रावलले १८ रन बनाउनुभयो । बलिङमा नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङले तीन तथा सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले एक एक विकेट लिनुभयो ।
यसअघि नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन बनाउनुभयो । यस्तै स्टेर कालिसले ३०, रोबिन रिके १९ र आइरिस ज्विलिङले अविजित १४ रन बनाउनुभयो ।
बलिङमा नेपालका लागि रुबिना क्षेत्रीले दुई तथा रिया शर्मा, सुमन विष्ट र पूजा महतोले एक एक विकेट लिनुभयो । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।





