
काठमाडौँ — नेपाली महिला क्रिकेट टोली बुधबार आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको पहिलो अभ्यास खेलमा आयरल्यान्डसँग पराजित भएको छ ।
तल्लो मूलपानी मैदानमा आयरल्यान्डले नेपाललाई ९९ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय रन बनाएको थियो । टोलीकी कप्तान ग्याबी लुइस ७७, ओर्ला प्रेन्डरगास्ट ६२ र लेह पाउल २१ रनमा ‘रिटायर्ड आउट’ भए । सराह फोर्ब्स र लुइसले ५ ओभरमै ५४ रन जोडेर आयरल्यान्डलाई आक्रामक सुरुआत दिलाए ।
फोर्ब्सले १२ बल खेल्दै ३ चौकासहित १५ रन बनाए । लुइसले ३८ बलमा १२ चौका र २ छक्का प्रहार गरिन् । प्रेन्डरगास्टले २९ बलमा ८ चौका र ३ छक्का प्रहार गरिन् । १९ बल खेलेकी पाउलले २ चौका प्रहार गरेकी थिइन् । आयरल्यान्डले १५ ओभरमा १ सय ७४ रन जोडिसकेपछि अनुभवी खेलाडी रुबिना क्षेत्रीको बलिङमा नेपालले अन्तिम ५ ओभरमा बल्ल बलिङको धार समाएको थियो ।
रुबिनाले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । रिया शर्माले ३ ओभरमा ४२ रन खर्चेर १ विकेट लिइन् । सोमु विष्टले ४ ओभरमा २९, कविता कुँवरले ३ ओभरमा २९, मनीषा उपाध्यायले २ ओभरमा १४, कप्तान इन्दु बर्माले १ ओभरमा १६, राजमती ऐरीले २ ओभरमा २० र कविता जोशीले २ ओभरमा ३३ रन खर्चेका थिए ।
जबाफमा नेपाली टोली १९ ओभरमा १ सय १ रनमा अलआउट भयो । विन्दु रावल, इन्दु र कविता जोशीबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । पहिलो २ ओभरमै तीन पटक जीवनदान पाएकी विन्दुले २८ बल खेलि ५ चौका प्रहार गरी २५ रन बनाइन् । इन्दुले २ चौकासहित १० बलमा १२ र कविता जोशीले २९ बल खेल्दै ६ चौकासहित २८ रन बनाइन् ।
ओपनर सम्झना खड्कालाई नेपालले शून्यमै गुमाएको थियो । काजल श्रेष्ठ २, पूजा महतो ३, रुबिना ४ तथा कविता कुँवर, रोमा थापा र सीता रानामगर समान ५ रनमा आउट भए । राजमती १ रनमा अविजित रहिन् । आयरल्यान्डबाट प्रेन्डरगास्ट, लारा म्याकब्रिज, एर्लिन केली र एमी मगाइरले २–२ विकेट लिए ।
टोलीका १५ मध्ये ११ कुनै खेलाडीले पनि ब्याटिङ र बलिङ गर्न पाउने नियममा रहेर दुबै टोलीले अभ्यास खेल खेलेका थिए । नेपालले शुक्रबार कीर्तिपुरमा अमेरिकासँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
अमेरिका र पीएनजीको ऐतिहासिक जित
दिनको अन्य अभ्यास खेलमा अमेरिका र पपुवा न्युगिनीले ऐतिहासिक जित पाएका छन् । सहभागी १० टोलीमा सबैभन्दा कम वरीयताको अमेरिकाले स्कटल्यान्डमाथि ४ विकेटको विजय पायो । पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा १४९–६ को स्कोर बनाए पनि अमेरिकाले ७ बलअगाडि १ सय ५३ रन बनायो ।
टेस्ट राष्ट्र जिम्बावेलाई पपुवा न्युगिनीले ११ रनले हरायो । पहिला ब्याटिङ गरेको पीएनजीले १३१–६ को स्कोर बनाएको थियो । जबाफमा जिम्बावेले ९ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो । त्यस्तै बंगलादेशले नेदरल्यान्ड्सलाई २६ रन र थाइल्यान्डले नामिबियालाई ७ विकेटले पराजित गरे ।





