नेभिगेसन मेनु

प्रदर्शनीमा राउटेका कला प्रवर्धन
सम्पादक:南亚网络电视
समय:2025-06-12 12:54


raute

एस् ए टी भी २९ जेठ, काठमाडौंः राउटे युवा कलाकार दीपक शाहीले पहिलो पटक हवाईजहाज चढेको अनुभव सुनाउँदै भन्नुभयो, “अब जता जाँदा पनि हवाईजहाजमै सरर जान पाए हुन्थ्यो । छिटो, लडिएला भन्ने डर पनि नहुने रहेछ ।” काठमाडौँमा जारी ललितकला प्रदर्शनीमा सहभागिता जनाएर सुर्खेत फर्कनुभएका शाहीले हवाईजहाज चढ्दाको अनुभव सुनाउँदै भन्नुभयो, “बसको ३० घण्टाको यात्रापछि काठमाडौं पुग्दा धेरै थाकेका थियौँ, केही डर पनि लागेको थियो तर फर्कंदा हवाईजहाजबाट एक घण्टामै सुर्खेत पुग्दा अझै काठमाडौँमा छौँ जस्तो लाग्दै थियो, हामी त सुर्खेत पुगिसकेका रहेछौँ ।”

कर्णाली प्रदेशको सुर्खेत, अछाम र त्यस वरपरका जङ्गलमा मात्र बसाइँ सरी बस्ने लोपोन्मुख राउटे समुदायका युवा कलाकारले यस वर्ष आफ्ना मौलिक कलाकृतिसहित काठमाडौँमा आयोजित कला प्रदर्शनीमा सहभागिता जनाएका छन् । राउटे समुदायसँग विगत सात वर्षदेखि काम गर्दै आउनुभएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले चार जना राउटे युवाको टोलीको समन्वय गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीमा उहाँहरूलाई काठमाडौँ ल्याउनुभएको थियो । गत फागुन महिनामा आयोजित कर्णाली प्रदेशस्तरीय कला प्रदर्शनीमा राउटे समुदायको कलाकृति पनि समावेश गरिएको थियो । सो प्रदर्शनीबाट छनोट गरेर पहिलो पटक राउटेका कलाकृति राष्ट्रिय कला प्रदर्शनीमा राखिएका हुन् । प्रदर्शनीमा राउटे समुदायले बनाएका काठका सन्दुक, कोसी, पिर्का ढकन, डाडु, पन्यु राखिएका छन् । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले लोपोन्मुख, सीमान्तकृत समुदायले अभ्यास गर्दै आएका कलाको जर्गेना गर्ने उद्देश्य अनुसार राउटे समुदायको कला समावेश भएको बताउनुभयो । 

उहाँले राउटे समुदायले बसिलाको मात्र प्रयोग गरी बनाएका दशकौँसम्म टिक्ने काठका सामग्रीको प्रवर्धन गर्न र राउटे कलाकारको हौसला बढाउन प्रदर्शनीले उत्साहजनक भूमिका खेलेको बताउनुभयो । उहाँले आगामी दिनमा अन्य सीमान्तकृत वर्गले बनाउँदै आएका कलाको पनि खोजी खोजी प्रवर्धन गरिने लक्ष्य रहेको बताउनुभयो । 

राष्ट्रिय ललितकला प्रदर्शनीमा राउटे युवाले बनाएका काठका कलाकृतिले ३० हजार रुपियाँको विशेष पुरस्कार पनि जित्न सफल भयो । काठमाडौँमा आयोजित कार्यशालामा राउटे युवा कलाकार दीपक शाही र धयर शाहीले टुनीको काठको कोसी (आरी) पनि बनाउनुभयो । राउटे महिला कलाकार बाटुली र सुरमानी शाहीले राउटे महिलाले लगाउने चोली हातले सिलाएर र पोते उन्ने कला पनि देखाउनुभयो । कलाकार दीपक शाहीले समुदायले काठका मात्र सामग्री बनाउने र जति पैसा पाए पनि ठेकी भने नबनाउने बताउनुभयो । दसैँमा खाट बनाएर बाख्रासँग साट्दै दसैँ मनाउने चलन रहेको उहाँले सुनाउनुभयो । उहाँले यस पटक प्रदर्शनीमा २० वटा कोसी (काठको आरी) लिएर आएकोमा एक हजारका दरले बिक्री भएर पैसा पनि पायौँ, पुरस्कार पायौँ भन्दै प्रतिष्ठानले गरेको सहयोगले धेरै खुसी लागेको बताउनुभयो । हाल राउटे समुदायमा १३५ जनाको ४२ घरधुरी छ । उहाँहरूको छुट्टै जीवनशैली, वेशभूषा, भाषा र कला छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर