एस् ए टी भी ७ मङ्सिर, काठमाण्डौंः न्यायपरिषद् बैठकले बालबालिकासम्बन्धी मुद्दा हेर्न बाल अदालत भक्तपुर गठनका लागि सिफारिस गरेको छ। सिफारिस कार्यान्वयनमा आए बालबालिकासम्बन्धी मुद्दाको छिनोफानो यसै अदालतबाट हुने छ। न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बुधबार बसेको बैठकले बालअदालत गठनका लागि सिफारिस गरेको हो।
कानुनमा भएको व्यवस्था कार्यान्वयनका लागि न्यायपरिषद्ले यो निर्णय गरेको हो। बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ३० बमोजिम बाल अदालत गठनका लागि सिफारिस गरिएको हो।
ऐनको दफा ३० बमोजिम काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार तथा भक्तपुरमा बाल अदालत रहने निर्णय गरिएको हो।
उक्त ऐनमा न्यायपरिषद्को सिफारिसमा बाल अदालत गठन हुने व्यवस्था छ। ‘बालबालिकाले गरेको कसुरजन्य कार्यको सुरू कारबाही, सुनुवाइ र किनारा गर्न नेपाल सरकारले न्यायपरिषद्को सिफारिसमा आवश्यक संख्यामा बाल अदालत गठन गर्न सक्नेछ’ ऐनको दफा ३० मा लेखिएको छ।