नेभिगेसन मेनु

त्रिविमा १६ वटा परीक्षाको नतिजा आउन ढिलाइ
सम्पादक:南亚网络电视
समय:2024-06-06 12:09

tu2024-06-06-06-16-22

त्रिभुवन विश्वविद्यालयले असार ०८० मा स्नातक तह तेस्रो वर्षको व्यवस्थापन र शिक्षा शास्त्र संकायको परीक्षा लियो । ती विद्यार्थी २९ जेठदेखि चौथो वर्षको वार्षिक परीक्षा दिँदै छन् । तर, एक वर्षअघि लिएको उक्त परीक्षाको नतिजा अझै प्रकाशन भएको छैन । अघिल्लो वर्षको नतिजा नआउँदै अर्को वर्षको परीक्षा दिने तयारीमा रहेका विद्यार्थी त्रिविको नतिजा प्रकाशन गर्ने शैलीप्रति असन्तुष्ट छन् । 

भदौ ०८० मा लिएको स्नातक तह दोस्रो वर्षको परीक्षाको नतिजा आएको छैन । त्यसो त यो तहमा कुनै पनि संकायको नतिजा आउन सकेको छैन । परीक्षा दिएर बसेका विद्यार्थी नतिजाको पर्खाइमा छन् ।

परीक्षा नियन्त्रण कार्यालयका कन्ट्रोलर पुष्पराज जोशी भन्छन्–विगतमा फरक किसिमको सिस्टम थियो, अब सिस्टम परिवर्तन भइसकेको छ । असोजसम्म सबैजसो बाँकी रहेका नतिजाहरू प्रकाशन गर्छौँ, यो वर्षदेखि भएका सबै परीक्षाको नतिजा पनि समयमै निकाल्छौँ, अब विगतमा जस्तो हुँदैन।

त्यस्तै, ०८० को असोज र मंसिरमा सञ्चालित स्नातक तह प्रथम वर्षको सबै संकायको नतिजा आएको छैन । समयमै नतिजा नआउँदा विद्यार्थी अन्योलमा छन् । गत असोज ०८० मा भएको स्नातकोत्तर तह एमपिए र एमबिएस दोस्रो वर्षको परीक्षाका नतिजा पनि पेन्डिङमै छन् । त्यस्तै, ०८१ वैशाखमा भएको परीक्षाको नतिजा कहिले आउने हो टुंगो छैन । केही महिनाअघि मात्रै परीक्षा दिएका विद्यार्थी नतिजा समयमै आउँछ भने आसमा छैनन् । 

त्रिभुवन विश्वविद्यालयको मुख्य रोगमध्ये एउटा रोग परीक्षाको नतिजा समयै प्रकाशन नगर्ने हो । जसका कारण लाखौँ विद्यार्थीको भविष्य नै अन्योल हुने गरेको छ । नतिजा समयमै नआउँदा विद्यार्थीलाई पढाइपछिको लक्ष्य पछ्याउन कठिन हुने गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार त्रिविले विभिन्न समयमा लिएको १६ वटा परीक्षाको नतिजा आउन बाँकी छ । समयमै नतिजा नआउँदा विद्यार्थी मारमा परेका छन् । एक तहको पढाइ सकेर अर्को तहको पढाइ सुरु गर्ने लक्ष्य बोकेका विद्यार्थीमा अन्योल छाउने गरेको छ । ‘अघिल्लो वर्षको रिजल्ट नआउँदै चौथो वर्षको परीक्षा दिनुपर्ने अवस्था छ,’ काठमाडौं सिफलमा रहेको जिपी कोइराला मेमोरियल कलेजमा चौथो वर्षमा अध्ययनरत विद्यार्थी सन्दीप बस्नेतले भने, ‘अब चौथो वर्षको रिजल्ट आउन फेरि एक वर्ष लाग्ने होला, रिजल्ट कुर्दाकुर्दै समय खेर जाने भो ।’ तर, परीक्षा नियन्त्रण कार्यालय बल्खुका कन्ट्रोलर पुष्पराज जोशीले नतिजा प्रकाशन गर्न धमाधम काम भइरहेको र असोजसम्म सबैजसो नतिजा प्रकाशन भइसक्ने बताए  । 

कुन तहको नतिजा कहिले आउँछ ? 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबैजसो नतिजा आगामी असोजसम्म आइपुग्छ । तर, एक वर्षअघि भएका परीक्षाको नतिजा भने असारभित्र आउनेछ । १ वैशाख ०८१ यता भएका सबै परीक्षाको नतिजा भने तीन महिनाभित्रै प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्नातक तह तेस्रो वर्षको मानविकी र व्यवस्थापनतर्फको नतिजा असार अन्तिमसम्म, भदौ ०८० मा लिएको स्नातक तह दोस्रो वर्षको परीक्षाको नतिजा साउनसम्म, ०८० को असोज र मंसिरमा सञ्चालित स्नातक तह प्रथम वर्षको सबै संकायको नतिजा साउनसम्म आउन सक्छ । यस्तै, असोज ०८० मा भएको स्नातकोत्तर तह एमपिए र एमबिएस दोस्रो वर्षको परीक्षाको नतिजा असार १५ भित्र, ०८१ वैशाखमा भएको परीक्षाको नतिजा भदौसम्म आउनेछ । यसबाहेक वैशाखसम्म भएका सबैजसो परीक्षाको नतिजा असोजसम्म आइसक्नेछन् । त्यस्तै, वैशाखयता भएका सबै परीक्षाको नतिजा तीन महिनाभित्र निकाल्ने गरी तयारी गरिएको कन्ट्रोलर जोशीले बताए । 

नतिजा छिटो निकाल्न कर्मचारीको १२ घण्टे ड्युटी

जेठदेखि लागू हुने गरी परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कार्यरत कर्मचारीलाई १२ घण्टे ड्युटी तोकिएको छ । पुराना नतिजामा गृहकार्य धेरै भएकाले त्रिविका उपकुलपति प्रा.डा केशरजंग बरालले कर्मचारीको ड्युटी तालिका बढाउन निर्देशन दिएका हुन् । कर्मचारीलाई काम गर्ने समय थप गरेसँगै सो समयमा भत्ता–सुविधा दिने व्यवस्थासमेत त्रिविले मिलाएको छ । हाल परीक्षा नियन्त्रण कार्यालयमा ५२ जना कर्मचारी छन् । ‘कर्मचारी बिहान सातदेखि बेलुकी सात बजेसम्म आउँछन्, अब परीक्षाको नतिजा प्रकाशन ट्र्याकमा ल्याउँछौँ,’ कन्ट्रोलर पुष्पराज जोशीले भने, ‘वैशाखदेखि भएका सबै परीक्षाको तीन महिना अर्थात् सय दिनभित्र नतिजा आउँछ, यसमा म ग्यारेन्टी दिन्छु ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर