जेठ २२ गते । टीकापुर नगरपालिका–१ बिशालनगर गल्ली नं ६ मा रुख ढलेर ७० वर्षका दलु पुरीको ज्यान गएको छ ।
सोमबार राति ९ बजेतिर आएको हावाहुरीले हल्दुको रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिनुभयो ।
मृतक पुरीका छोराहरू बाजुरामा रहेका र घटनापछि टीकापुर आउन लागेका छन् । वडा नम्बर १ कै गणेशपुर र ज्योति नगरमा पनि एउटा एउटा घरमा क्षति भएको प्रहरीले जनाएको छ ।
टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुम्वासीका रूपमा बसेका विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनि रुख ढलेर घर च्यापिने, मान्छेहरू घाइते हुने र मान्छेको ज्यान जाने घटना भइरहेका छन् ।