महेन्द्रनगर (कञ्चनपुर), जेठ ८ गते । बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ ।
बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिनुभयो ।
“दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भन्नुभयो, “दुवैको शरीर चोटपटक देखिन्छ ।” बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उहाँको भनाइ छ । घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ ।
“सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो”, धामीले भन्नुभयो, “तर अझै शव अस्पतालमै छ ।” मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।