नेभिगेसन मेनु

थारुहरूको परम्परा तथा लोकसंस्कृति संरक्षणार्थ रौतहटमा कात्तिकेश कुँवर मेला
सम्पादक:南亚网络电视
समय:2023-11-29 16:13

ण

रौतहट, मङ्सिर १३ गते । आदिवासी थारु समुदायको परम्परा तथा लोकसंस्कृति समेतको संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा जिल्ला कै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।

आदिवासी थारु समुदायको महान् चाड सामाचकेवा पर्वको अवसर पारेर विगत ४५ वर्षदेखि उक्त मेला लाग्दै आएको छ । कात्तिक शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म थारु महिलाहरू आफ्ना दाजु भाइको दीर्घ जीवनको कामना गर्दै मनाउने सामाचकेवा पर्वको समापन अर्थात् पूर्णिमाको भोलीपल्टदेखि नै यहाँ हरेक वर्ष कात्तिकेश्वर कुँवर मेला सुरु हुने गर्दछ ।

नेपालका आदिवासी थारुहरूको परम्परा तथा लोकसंस्कृति समेतको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेलामा थारु संस्कृति झल्किने झाँकी, लोक नृत्यलगायत थारु परिकारहरूको प्रदर्शनी रहेको छ । वडा अध्यक्ष जितेन्द्र चौधरीले दिनुभएको जानकारीअनुसार स्थानीयस्तरमा उत्पादित तरकारी, खाद्यान्न सामग्री, लत्ताकपडालगायत अन्य दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा पाइने उक्त मेलामा नेपालको विभिन्न स्थान र भारतबाट समेत व्यापारीहरू व्यापार गर्न आउँछन् ।

धानबाली थान्को लगाइसकेपछि थकाइमार्न र मनोरञ्जन लिन सन्तपुरका थारु समुदायका नागरिकले आयोजना गरेको उक्त मेलामा तराइका पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी जिल्लालगायतका छिमेकी मुलुक भारतको बिहार राज्यका मानिस समेत मेला भर्न आउँछन् ।

कात्तिकेश कुँवरको पूजा गरी चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेद्वारा मङ्गलबार उद्घाटन गरिएको उक्त मेला बुधबारदेखि सात दिनसम्म रहन्छ । मेलामा मनोरञ्जनका लागि रोटेपिङ्, टावर झुला, हर्स पिङ्, जादुघर, बालबालिका लक्षित विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलहरू र पश्चिम चम्पारण भारतबाट ल्याइएको अर्केष्ट्रा मञ्चन गरिनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने उद्देश्यले खुला नृत्य प्रतियोगिता सञ्चालन गरिने मनोरञ्जन समितिका संयोजक प्रमोदकुमार चौधरीले जानकारी दिनुभयो ।

मेला अवधिभरिमा करिब पाँच लाख मानिस मेलाभर्न आउने आयोजक समितिले जनाएको छ । मेलामा विभिन्न समुदायका मानिसको जमघट हुने भएकाले कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था समेत कडा पारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर