नेभिगेसन मेनु

आइसिसी एकदिवसीय विश्वकप : पाकिस्तानको कीर्तिमानी जित
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-11 15:39

icc2023-10-11-07-03-11

पाकिस्तानले आइसिसी एकदिवसीय विश्वकपमा कीर्तिमानी जित निकालेको छ । मंगलबार हैदराबादमा भएको विश्वकपको आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो । ओपनर अब्दुल्लाह साफिक र चौथो नम्बर क्रिजमा आएको मोहम्मद रिजवानको सानदार प्रदर्शनसँगै पाकिस्तानले दश बलअघि जित निकालेको हो । पाकिस्तानले तीन सय ४५ रनको लक्ष्य ४८.२ ओभरमा चार विकेट गुमाउँदै भेट्टाएको थियो । 

विश्वकप इतिहासमा तीन सय ४४ रनको विशाल लक्ष्य पूरा भएको यो पहिलोपटक हो । यसअघि सन् २०११ मा आयरल्यान्डले सर्वाधिक ठूलो स्कोर भेट्टाएको थियो । इंग्ल्यान्डविरुद्ध तीन सय २७ रनको विजयी लक्ष्य आयरल्यान्डले ४९.१ ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको थियो । बेंगलुरुमा भएको खेलमा इंग्ल्यान्डले सुरुवाती ब्याटिङ गर्दै तीन सय २७ रन बनाएको थियो । आयरल्यान्डले पाँच बलअघि जित सुनिश्चित गरेको थियो । केभिन ओ ब्रायनले ६३ बलमा आक्रामक ब्याटिङ गर्दै एक सय १३ रन बनाएको थियो । 

रिजवान र अब्दुल्लाहको कीर्तिमानी सतक

पाकिस्तानको इनिङ्समा ओपनर अब्दुल्लाह साफिक र चौथो नम्बर क्रिजमा आएको मोहम्मद रिजवानले शतकीय इनिङ्स खेलेका थिए । २३ वर्षीय अब्दुल्लाहले एक सय १३ रन बनाए । अब्दुल्लाहको करिअरकै यो पहिलो शतक हो । रिजवानले अविजित एक सय ३१ रन बनाएका हुन् । उनले ९७ बलमा शतक बनाएका थिए । घाइते भए पनि रिजवानले क्रिज नछाडी टोलीको जित तय गरे । उनी बारम्बार मैदानमा ढल्न पुगेका थिए । तर पनि क्रिज छाडेनन् । यो रिजवानको करिअरको तेस्रो र विश्वकपको पहिलो शतक रह्यो । व्यक्तिगत उच्च स्कोर पनि हो । यसअघि सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको शृंखलामा दुई शतक बनाएका थिए । 

तेस्रो विकेटका लागि रिजवान र अब्दुल्लाहले एक सय ७६ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रिजवानले साउद साकिलसँग ९५ रनको साझेदारी गरेका हुन् । साउद ३१ रन बनाएर आउट भए । यसअघि ओपनर इमाम उल हक र कप्तान बाबर आजम ३७ रन बनाउँदा आउट भएपछि पाकिस्तान दबाबमा आएको थियो । तर, रिजवान र अब्दुल्लाहले उत्कृष्ट इनिङ्स खेल्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यसअघि पाकिस्तानले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ८१ रनले हराएको थियो । श्रीलंका दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको हो । जितपछि पाकिस्तान दुई खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ । 

साबिक विजेता इंग्ल्यान्ड विजयी

साबिक विजेता इंग्ल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पहिलो जित निकालेको छ । मंगलबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा इंग्ल्यान्डले बंगलादेशलाई एक सय ३७ रनले पराजित गरेको हो । जितसँगै इंग्ल्यान्डले दुई खेलबाट २ अंक जोडेको छ । पराजित बंगलादेशको पनि समान खेलबाट २ अंक नै छ । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको थियो । इंग्ल्यान्ड भने पहिलो खेलमा न्युजिल्यान्डसँग ९ विकेटले पराजित हुन पुगेको थियो । 

इंग्ल्यान्डले प्रस्तुत गरेको तीन सय ६५ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा सबै विकेट गुमाउँदा दुई सय २७ रनमा समेटिएको थियो । बंगलादेशका लिटन दासले सर्वाधिक ७६ रन बनाएका थिए । दासले ६६ बलमा ७ चौका र २ छक्का प्रहार गरेका हुन् । मुस्फिकर रहिमले ६४ बलमा ४ चौकासहित ५१ रनको योगदान गरे । यसैगरी, तोविद हृदयले ३९, तस्किन अहमदले १५, मेहदी हसनले १४ र सोरिफुल इस्लामले १२ रन जोडेका थिए । पाँचौँ विकेटका लागि दास र रहिमले ७२ रनको साझेदारी गरे । इंग्ल्यान्डका रिस टोप्लीले सर्वाधिक चार विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडनसहित ४३ रन मात्रै खर्चिएका हुन् । क्रिस वोक्सले २ विकेट हात पारे । 

मलानको शतकीय इनिङ्स

ओपनर डेविड मलानले सानदार शतकीय इनिङ्स खेलेपछि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले विशाल लक्ष्य बनाएको थियो । इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय ६४ रनको योगफल तयार पारेको हो । मलानले एक सय ७ बलमा १६ चौका र ५ छक्कासहित एक सय ४० रनको इनिङ्स खेले । तेस्रो नम्बर क्रिजमा आएका जो रुटले ६८ बलमा ८ चौका र एक छक्काको मद्दतमा ८३ रन तथा ओपनर जोनी बेयरेस्टोले ५९ बलमा ८ चौकासहित ५२ रनको योगदान गरेका थिए । 

कप्तान जोस बटलर र ह्यारी ब्रुक्सले समान २०, क्रिस वोक्सले १४ तथा साम करन र आदिल रासिदले समान ११ रन बनाएका हुन् । मलानले दोस्रो विकेटका लागि रुटसँग मिलेर एक सय ५१ रनको बलियो साझेदारी गरेका थिए । मलानले पहिलो विकेटका लागि बेयरेस्टोले एक सय १५ रनको साझेदारी गरेका हुन् । बंगलादेशका मेहदी हसनले सर्वाधिक चार विकेट लिए पनि ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन् । 

मेन्डिस र सदिराको शतक 

कुशल मेन्डिस र सदिरा समराविक्रमाको सानदार शतकमा श्रीलंकाले पाकिस्तानविरुद्ध तीन सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर ब्याटिङ गरेको श्रीलंकाका ओपनर कुशल परेरा चार बल खेल्दै शून्यमा पेभिलियन फर्किएपछि मध्यक्रमका ब्याट्सम्यानले सानदार प्रदर्शन गरेका थिए ।

कुशल र सदिराले शतक बनाउँदा अर्का ओपनर पाथुम निसंकाले अर्धशतकीय इनिङ्स खेलेका थिए । मेन्डिसले ७७ बलमा आक्रामक ब्याटिङ गर्दै एक सय २२ रन बनाए । मेन्डिसले १४ चौका र ६ छक्का प्रहार गरेका थिए । सदिराले ८९ बलमा ११ चौका र दुई छक्कासहित एक सय ८ रन बनाएका हुन् ।

निसंकाले ५१ रन बनाए । दोस्रो विकेटका लागि मेन्डिस र निसंकाले ९५ बलमा एक सय २ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि मेन्डिस र समराविक्रमाले ६९ बलमा एक सय ११ रनको बलियो साझेदारी गरेपछि श्रीलंका बलियो स्कोरतर्फ अगाडि बढेको थियो । धनञ्जय डी सिल्भाले २५ र कप्तान दासुन सनकाले १२ रनको योगदान गरे । पाकिस्तानका हसन अलीले चार विकेट लिएका थिए । हरिस राउफले दुई तथा साहिन शाह अफ्रिदी, मोहम्मद नवाज र सादव खानले समान एक विकेट लिएका हुन् । 

भारतले फर्कायो पाकिस्तानी टिभी प्रस्तोता

जारी विश्वकपमा रिपोर्टिङ गर्न गएका पाकिस्तानी एक महिला एंकरले भने विवादास्पद पुरानो ट्विटका कारण भारत छाड्नुपरेको छ । जारी विश्वकपमा रिपोर्टिङ गर्न भारत पुगेकी जैनव अब्बासले सोमबार भारत छाडेकी छिन् । उनले नौ वर्षअघि भारतविरोधी दुई ट्विट गरेकी थिइन् । सोही ट्विटका कारण अहिले निकै विवाद भएको छ । 

सुरक्षाका कारण उनलाई अहिले स्वदेश पठाएको बताइन्छ । उनलाई भारतमै राख्दा हिंसा भड्कन सक्ने पनि बताएको छ । उनी मंगलबार हैदराबादमा भएको पाकिस्तान र श्रीलंकाबीचको खेल एंकरिङ गर्ने तयारीमा थिइन् । तर, विवाद बढ्ने देखिएपछि जैनवलाई स्वदेश फर्काइएको छ । उनले पाकिस्तानको खेलमा एंकरिङ गर्न जिम्मेवारी पाएकी थिइन् । पाकिस्तान पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्दा राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा उपस्थित भइन् । उनले पाकिस्तानले खेल्ने चेन्नई, बेंगलुरु र अहमदाबादमा यात्रा गर्ने अनुमति पनि पाएकी थिइन् । 

वकिलले उजुरी गरेका थिए

भारतीय वकिल विनित जिन्दलले जैनवको विवादास्पद ट्विटलाई लिएर उजुरी गरेका थिए । उनको आरोप छ, ‘जैनवले सामाजिक सञ्जालमा हिन्दू र भारतको अपमान गरेकी छिन् ।’ जिन्दलले नौ वर्ष पुरानो जैनवका आधिकारिक दुई ट्विटको स्क्रिनसट लिएका थिए । वकिल जिन्दलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतीय क्रिकेट बोर्ड र होम मिनिस्ट्रीलाई पत्र लेख्दै जैनवलाई देशनिकाला गर्न माग गरेको छु,’ उनले भनेका छन् । ‘अतिथि देवो भवः’ उनका लागि हो, जो देश र हिन्दूको सम्मान गर्छन् । देशको विरुद्ध बोल्नेलाई यहाँँ स्वागत गर्नुहुँदैन,’ जिन्दलले भनेका छन् । सुरक्षाका कारण भारत छाडेकी जैनव संयुक्त अरब इमिरेट्सको राजधानी दुबई पुगेकी छिन् । साइबर क्राइम र आतंकबढ्ने भए पछि जैनव दुबई पुगेकी हुन् । पाकिस्तानी टेलिभिजन कार्यक्रम प्रस्तोता जैनवले युएईको घरेलु लिगमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । 

भएको के थियो ? 

जैनवले नौ वर्षअघि दुई ट्विट गरेकी थिइन् । जसको अहिले निकै विरोध भइरहेको छ । उनले एक ट्विटमा लेखेकी छिन्, ‘१२० करोड जनता एक ढंगले तीव्र गतिको बलर उत्पादन गर्न सकेका छैनन् । शुद्ध शाकाहारी हो, थोरै मासु खान सुरु गर्नुस्,’ तेन्दुलकर नाम गरेको ट्विटमा रिप्लाई गर्दै जैनवले लेखेकी थिइन् । उनले दोस्रो ट्विटमा हिन्दू धर्मकी देवी काली माताको प्रसंग जोड्दै मजाक गरेकी थिइन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर