नेभिगेसन मेनु

दसैंको बेलामात्रै म्याद गुज्रिएका सामान किन भेटिन्छन् ? बजारमा ग्राहकभन्दा बढी अनुगमनकर्ता !
सम्पादक:南亚网络电视
लेखक:१२ खरी
समय:2023-10-10 14:15

dashainkobela-1696844076(1)

काठमाडौं –असोज १४ गते वरुण वेभरेजको उत्पादन स्लाइस गुणस्तरहीन भएको भन्दै काठमाडौं महानगरपालिकाको बजार अनुगमन समितिले दुई लाख जरिबाना गर्‍यो ।

अखाद्य वस्तु बजारमा जानुपूर्व फिर्ता लैजाने व्यवस्था गर्ने, प्याकिङपछि रसायनिक, भौतिक दुवैरुपमा गुणस्तर कायम गर्ने र यस लटमा बजार गइसकेको गुणस्तरहीन उत्पादन भएको भए पुनः परीक्षण गर्ने आदेशसहित महानगरले दुई लाख जरिबाना गर्‍यो ।

–असोज १५ गते काठमाडौंको ठमेलमा रहेको न्यू भिम स्टोरमा राखिएको कार्ल्सबर्गको बिययर म्याद नाघेको भन्दै दुईलाख जरिबाना गरियो ।

यो पनि काठमाडौं महानगरपालिकाको बजार अनुगमन समितिले गरेको अनुगमनमा यस्तो फेला परेको भन्दै जरिबाना गरेको हो ।

म्याद नाघेको सामान बिक्री गरिएकाले जरिबाना गरिएको, बजार अनुगमन टोलीलाई आफ्नो मानसामान राख्न र स्टोर तथा सोधिएकोबारे सत्यतथ्य जानकारी गराउने आदेश दिएर टोली फिर्ता भयो ।

–असोज १८ गते काठमाडौं महानगरपालिकाको सोही टोली पुग्यो लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा ।

‘ग्राहकको खाजामा साङ्ला भेटिएको’ भन्ने गुनासोको आधारमा महानगरको टोलीले उक्त रेष्टुरेन्टमा तालाबन्दी गरिदियो । महानगरपालिकाले गुनासोपछि टोलीले अनुगमन गर्दा त्यहाँ अखाद्य वस्तु फेला परेको जानकारी गराएको थियो ।

दसैँ नजिकिएसँगै काठमाडौं महानगरपालिकासहित राज्यका अन्य निकायले बजार अनुगमनलाई तिव्रता दिएका छन् । वर्षभरी गपचुप गरिने बजार अनुगमन चाडपर्वमा भने व्यापक चर्चाका साथ गर्ने गरिँदा आफूहरु मारमा परेको व्यवसायीको गुनासो छ ।

“हामीबाट पनि केही कमीकमजोरी भएको हुन सक्छ,” एक जना व्यवसायीले बाह्रखरीसँग भने, “राज्यको एउटा निकायले सानो कमजोरीमा हाम्रो सिंगो व्यवसाय डुबाइदिने नियतका साथ काम गरेको देखिन्छ । यसले हामीमा त्रास फैलिएको हो ।”

उनका अनुसार अनुगमनका नाममा मिडियालाई अघि लगाएर आउँदा सानो गल्तीमा पनि ठूलो अपराध गरेजस्तै गरी प्रचार प्रसार भइदिँदा सारा लगानी डुब्ने अवस्थामा राज्यकै निकायले पुर्‍याइदिएका छन् ।

यो वर्षको दसैँ आउन अब १६ दिनमात्र बाँकी छ । वर्षभरी नै गछुवा गतिमा अनुगमन गरिरहेका जिम्मेवार निकायहरू स्थानीय तहदेखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अहिले सक्रिय भएका छन् । 

यी बाहेक बजारको अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयले पनि गर्ने गरेको छ । 

गुण नियन्त्रण विभागले वर्षभरी नै बजार अनुगमन गर्ने गरेको दाबी गरेको छ । तर, दसैँ, तिहार र छठको समयमा भने बजारमा बढी नै गुणस्तरहीन सामान बिक्री हुने गरेकोले यो समय अरू समयभन्दा बढी अनुगमन गर्नु परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । 

“अहिले दैनिक दुईवटा टिम हामीले बजार अनुगमनका लागि पठाएका छौं । अन्य समयमा पनि दैनिक बजार अनुगमन हुने गरेको छ । तर, दसैँमा भने हामीले विशेष प्राथमिकता दिने गरेका छौं,” उनले भने, “यो विभागले प्रशोधित खाद्य वस्तुको बजार अनुगमन गर्ने गर्दछ । अनुगमन नै हाम्रो वार्षिक कार्यक्रम हुन्छ । नियमित रूपमा नै हामीले अनुगमन गरिरहेका हुन्छौं ।” 

तर, बजारमा अनुगमन नियमित भएको भए पनि त्यसको प्रभावकारीता कम भएको राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।  अहिलेको बजार अनुगमनले उपभोक्ताको हित नगर्ने पनि उनको भनाइ छ । 

“वाणिज्य विभागले नियमित अनुगमन त गरेको हुन्छ । तर, दसैँमा अलि बढी गर्ने गरेको छ । तर, यस्तो अनुगमनले मात्र उपभोक्ताको हित हुँदैन,” महर्जनले भने, “उपभोक्ताको हित हुनका लागि बजार सुधार हुन पर्छ । बजार अनुगमनले बजार सुधार भएको छैन । मूल्य बढेको बढ्यै छ । अहिलेको अनुगमन भनेको बजार अनुगमन गर्ने राजस्व उठाउने भन्दा अरू केही पनि भएको छैन ।” 

अहिलेको जस्तो बजार अनुगमनले बजार सुधार नहुने र उपभोक्तामुखी नहुने पनि उनको दाबी छ ।  बजार सुधार गर्न तिनै तहका सरकार मिलेर अनुचित व्यापार व्यवसाय गर्नेलाई कानुनको कठघरामा लैजानुपर्ने महर्जन बताउँछन् । 

त्यसैगरी बजार अनुगमन प्रभावकारी बनाउन स्थानीय सरकारलाई नै सक्रिय बनाउँनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् ।  सरकारले चाडपर्वमा बजार अनुगमनलाई तिब्रता दिनु सकारात्मक भएको भए पनि एक दुई गोदाममा मात्र छापा मारेर अनुगमनलाई टालटुल पार्ने प्रयास गरिरहेको बानियाँको भनाइ छ । 

“संघीय सरकारले काठमाडौं केन्द्रित अनुगमन गर्ने गरेको छ । सरकारले काठमाडौंलाई मात्र देश देखेको छ । काठमाडौंमा मात्र गरे देशभरी नै अनुगमन हुन्छ भन्ने सोच अहिले पनि छ । दायित्व पूरा गरेको पनि देखिँदैन,” उनले भने, “अहिले जस्तो किसिमको अनुगमन भइरहेको छ, त्यो निराशाजनक छ । सरकारले जिम्मेवारी पुरा नगर्ने अनि यही बेलामा व्यापारीले कालोबजारी गरे भनिन्छ ।” 

अहिले वाणिज्य विभागले ठूला–ठूला गोदामको अनुगमनलाई प्राथमिकता दिएको छ ।  कतिपय थोक वस्तुहरू बजारमा नपाइएकाले पनि ती वस्तुको अनुगमन विभागले गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता आनन्दराज पोखरेले बताए । 

“हामीबाहेक स्थानीय तह र जिल्ला प्रशासनले पनि बजार अनुगमन गरिरहेका छन् । हामीले अहिले साना तिना पसलभन्दा पनि ठूला रिटेलहरू र गोदामलाई प्राथमिकता दिएका छौं,” पोखरेलले भने, “अहिले केही थोक वस्तु बजारमा अभाव भएको भन्ने कुरा आएको छ । हामीले त्यहीअनुसार अनुगमन पनि गरिरहेका छौं ।”

बाह्रखरीसँगको कुराकानीमा एक व्यवसायीले बजार अनुगमनको नाममा आफूहरुको हुर्मत लिने काम भइरहेको बताए । गोर्खा ब्रुअरीको म्याद नाघेको बियर बजारमा फेला परेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले कम्पनीका प्रतिनिधिलाई फोन गरेर ‘थर्काएको’ बताइएको छ ।

ठमेलको एक दोहोरी साँझमा म्याद सकिएको बियर बेचेको फेला परेपछि आफूहरु त्यहाँ पुगेको र प्रतिनिधि बोलाएको काठमाडौं महानगरका नगर प्रमुख राजु पाण्डेले बताए ।

“गोर्खा ब्रुअरीलाई सम्पर्क गर्दा काठमाडौं हेर्ने व्यक्तिलाई सम्पर्क गर्न भन्नुभयो,” पाण्डेले पत्रकारहरुसँग भनेका थिए, “उहाँहरु जिम्मेबार भएर आउनुभएन भने काठमाडौंका आउटलेट र गोदाममा शिल गिरिदिने छौँ ।”

उपभोग्य वस्तु उत्पादन गरिरहेका एक उद्योगीले भने होलसेलर र रिटेलरबीचको मिलेमतोमा यस्तो काम भइरहेको आरोप लगाए ।

holsel-1696844831.JPG

“होलसेलर र रिटेलरबीचको मिलेमतोमा म्याद सकिएका उपभोग्य सामान बिक्री हुन्छ,” ती उद्योगीले भने, “हामीलाई पहिल्यै यो कुरा थाहा भएको भए हामीले बजारबाट ती उत्पादन फिर्ता लिइसक्थ्यौँ ।”

उनले बजारमा गएको उपभोग्य सामग्री दसैंको बेलामात्रै म्याद गुज्रिएको भन्दै सरकारका विभिन्न निकायले दुःख दिइरहेको गुनासो गरे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर