मध्यपुर थिमि नगरपालिकाले सबै वडाका मुख्य सडकमा सडकबत्ती जडान गर्ने भएको छ । ‘मध्यपुर उज्यालो अभियान’अन्तर्गत नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको हो ।
रात्रिकालीन समयमा सहजतापूर्वक आवतजावत गर्न सकिने गरी नगरपालिकाले मुख्य सडकमा सडकबत्ती जडान गर्न लागेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । अहिले मध्यपुर थिमि नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सडकबत्ती जडान गर्ने कार्य सम्पन्न भइसकेको छ ।
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत लागत साझेदारीमा नगरपालिकाले मध्यपुर उज्यालो अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको भित्री र बाहिरी सबै सडकमा बत्ती बाल्ने उद्देश्यसहित चार करोड रुपियाँको टेन्डर गर्न लागिएको छ । नगरपालिकाका सबै सडकमा सडकबत्ती जडान भएपछि रात्रिकालीन समयमा हुने दुर्घटनामा समेत न्यूनीकरण आउने अपेक्षा गरिएको छ ।
नगरपालिकाले सार्वजनिक जमिनको संरक्षण गरी सो क्षेत्रमा पार्क निर्माण गर्ने कार्यलाई पनि तीव्रता दिएको छ । घाँस र झाडीले ओगटेको सार्वजनिक जग्गा खोजी गर्दै सो क्षेत्रमा पार्क निर्माण गर्ने कार्यलाई तीव्रता दिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले फोहोर व्यवस्थापन ऐन निर्माण गरेको र निजी क्षेत्रको सहकार्यमा फोहोर व्यवस्थापन गर्न लागिएको, सफाइ अभियानअन्तर्गत सबै टोलका सडकमा स्थानीय सङ्घसंस्था र टोलवासीको सहभागितामा सरसफाइ गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
अहिले नियमित रूपमा अरनिको राजमार्ग भने सरसफाइ गर्ने कार्य जारी छ । सम्पदा क्षेत्रका घर, पाटीपौवा, पोखरीलगायतका सम्पदालाई पुरातात्त्विक शैलीमा नै पुनर्निर्माण गर्न मापदण्ड तयार गरी सोको आधारमा विस्तृत परियोजना प्रस्ताव तयार पारिएको छ ।
सांस्कृतिक नगरलाई जीवन्त बनाउन स्थानीय नामलाई जगेर्ना र संरक्षण गर्न मौलिक नाम अभिलेखीकरण गर्ने तयारी नगरपालिकाले गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।