
मकवानपुर, साउन ८ गते । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शुक्रबार र शनिबार मकवानपुरको दुईदिने भ्रमण गर्नुहुने भएको छ। कृषि, प्रविधि तथा संस्थागत साझेदारीका सम्भावित क्षेत्र पहिचान गर्ने उद्देश्यले राजदूत बासले मकवानपुर भ्रमण गर्न लाग्नुभएको हो।
बागमती प्रदेशभित्र सञ्चालन भइरहेका प्राविधिक शिक्षाका कार्यक्रमको स्थलगत निरीक्षण, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको अवलोकन र क्षेत्रीय औद्योगिक सम्भावनाबारे अध्ययन गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले जानकारी दिनुभयो।
भ्रमणको पहिलो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सचिवहरूसँग शिष्टाचार भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि राजदूत बासले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै हेटौँडा उपमहानगरपालिका–१६ स्थित जनप्रिय प्राविधिक शिक्षालयको अध्ययन अवलोकन र ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रको भ्रमण गर्नुहुनेछ।
भ्रमणको दोस्रो दिन शनिबार उहाँले मार्खुस्थित मानव निर्मित कुलेखानी जलाशय र चित्लाङस्थित भेडा फार्मको अवलोकन गर्नुहुने कार्यक्रम तय गरिएको छ।


















