
काठमाडौँ, पुस २७ गते । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले केएनपी नेरोलेक नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलबुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको फाइनल खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–२२, २५–१८, १५–२५, २७–२५ ले हरायो ।
उपाधिसँगै न्यु डायमन्डले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । यस्तै उपविजेता पुलिसले दुई लाख ५० हजार र तेस्रो भएको एपिएफ क्लबले एक लाख २५ हजार रुपियाँ पायो ।
तेस्रो स्थानमा लागि भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२३, २५–१८ को सोझो सेटमा हराएको थियो । पुस २३ देखि सुरु भएको प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो ।
कुल पुरस्कार राशी १४ लाख रुपियाँ रहेको प्रतियोगिताको विधागत उत्कृष्टलाई जनही २५ हजार रुपियाँ र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।





