एस् ए टी भी २७ वैशाख, काठमाडौंः उत्तरी चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका बासिन्दालाई परिचयपत्र वितरण गर्न थालेको हो। लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको पहलमा जिल्ला प्रशासनले शुक्रबारदेखि दुईदिने परिचयपत्र वितरण शिविर सञ्चालन गरेको छ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा ३२५ जनालाई परिचयपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए। स्थानीय तहको समन्वयमा लोघेकर दामोदरकुण्ड र लोमान्थाङमा ६६८ जनालाई परिचयपत्र वितरण गर्ने योजना रहेको उनले जनाए।
परिचयपत्र वितरणका लागि चार कर्मचारी खटिएका छन्। यसअघि परिचयपत्रका लागि जोमसोम पुगेर नाम दर्ता गराएका नागरिकले गाउँपालिका केन्द्रमै परिचयपत्र पाउँदा खुसी भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए। ‘राष्ट्रिय परिचयपत्र लिन जोमसोम आउजाउ गर्दा प्रतिव्यक्ति ६ हजारभन्दा बढी खर्च हुन्थ्यो, शिविरबाट परिचयपत्र वितरण हुँदा स्थानीयलाई आर्थिक भार कम भएको छ,’ अध्यक्ष विष्टले भने।
जिल्ला प्रशासनले स्थानीयको सुविधालाई ध्यानमा राखेर पहिलोपटक परिचयपत्र वितरण शिविर सञ्चालन गरेको हो। ‘शिविरले जोमसोम धाउनुपर्ने झन्झट हटेको छ,’ लोघेकर दामोदरकुण्ड–१ का वडाध्यक्ष टै ढिन्डुक ठकुरीले भने। प्रशासनले नागरिकको सुविधालाई केन्द्रमा राखेर सेवा दिएको उनको भनाइ छ।
सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता र अन्य प्रशासनिक कामका लागि परिचयपत्र अनिवार्य गरेपछि मुस्ताङमा परिचयपत्रका लागि दर्ता गर्ने क्रम बढेको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँग सहकार्यमा परिचयपत्र वितरण अभियान सञ्चालन गरिरहेको छ।