एस् ए टी भी २६ पौष ताप्लेजुङ: किरात याक्थुङ चुम्लुङ (कियाचु) ले सदरमुकाम फुङलिङको तोक्मेडाँडामा धान नाच प्रतिमा ‘ताक्वाचङ या राक्मा या’ निर्माण गरेको छ । कियाचु इजरायलको आर्थिक सहयोगमा दुईजना पुरुष र दुईजना महिला एकापसमा हात समाएर धान नाच्दै गरेको प्रतिमा निर्माण गरिएको हो ।
चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम यक्तेन लगायतले बिहीबार प्रतिमाको उद्घाटन गरे । धाननाच लिम्बू समुदायमा प्रचलित नाच हो । सञ्चारको विकास नहुँदासम्म युवायुवतीहरू एकापसमा नाता सम्वन्ध केलाउने र साइनो सम्वन्ध नलाग्ने भए धान नाच्ने र मन मिले विवाह गर्ने प्रचलन रहेको थियो ।
अहिले पनि सोल्टासोल्टीनी भेट हुँदा धान नाचौंन भन्ने प्रचलन छ । लिम्बू समुदायको यो परम्परालाई झल्काउन तोक्मेडाँडामा प्रतिमा बनाइएको कियाचुका जिल्ला अध्यक्ष इन्दीरा मेन्याङवोले बताइन् ।
६.५ फुट पुरुष र ६ फुट महिलाको उचाइको प्रतिमाको पृष्ठभूमिमा कुम्भकर्ण हिमाल (फक्ताङलुङ ), कञ्चनजंघा र पाथीभरा (मुक्कुम्लुङ) को चित्र अंकित गरिएको छ ।