नेभिगेसन मेनु

पोखराको राजस्व सङ्कलन लक्ष्य नजिक
सम्पादक:南亚网络电视
समय:2024-07-19 14:57

Rajaswa-karyalaya-,-Pokhara

पोखरा, साउन ४ गते । सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर राजस्व सङ्कलनमा परेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरणमा पनि सो प्रभाव देखिएको जनाएको  छ ।

आन्तरिक राजस्व विभागले पोखरा कार्यालयलाई दिएको लक्ष्यमा ८७.१९ प्रतिशत मात्र प्रगति हासिल भएको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा आ व २०८०/०८१ मा राजस्व सङ्कलन भने ७ प्रतिशतले बढी छ ।

कार्यालयले आर्थिक वर्ष २०७९/०८०  को तुलनामा ३४ करोड ९५ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । उक्त वर्ष कार्यालयले पाँच अर्ब २२ करोड ६० लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो । विभागले ६ अर्ब ३९ करोड ४७ लाखको लक्ष्य दिएको थियो । जसमा पाँच अर्ब ५७ करोड ५५ लाख रुपियाँ (८७.१९ प्रतिशत) सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिव नेपालले बताउनुभयो ।

कार्यालयले गत आवमा आयकरतर्फ तीन अर्ब ६६ करोड ८७ लाख ३३ हजार सङ्कलन गरेको छ । जसमा घरबहाल कर ब्याजकरसमेत समेटिएको छ । तर सहकारीहरुको समस्याले गर्दा यस वर्ष ब्याजदरमा केही कमी आएको कार्यालयले जनाएको छ । सहकारीका कारण साना व्यवसायहरुमा आएको मन्दीले घरबहाल र अन्य आयकरलाई समेत प्रभाव पारेको कार्यालय प्रमुख नेपालले बताउनुभयो । यस क्षेत्रमा सबैभन्दा राम्रो मूल्य अभिवृद्धि कर (भ्याट) हो । जसमा एक अर्ब ७३ करोड ३५ लाख ८० हजार सङ्कलन भएको छ ।

पोखरा पर्यटनको राजधानी भएकाले पर्यटन सङ्ख्या बढ्दै जाँदा व्यवसायमा आएको सुधारले मूल्य अभिवृद्धि करमा अघिल्लो आव तुलनामा आव २०८०/०८१ मा ३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, अन्तःशुल्कतर्फ १६ करोड ६६ लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सरकारले निर्माण व्यवसायलाई समयमै भुक्तानी दिन नसक्दा भ्याट र आयकर लक्ष्यअनुरुप उठ्न नसकेको कार्यालय प्रमुख नेपालले बताउनुभयो । हाल आर्थिक गतिविधि चलायनमान हुन नसक्दा जेजति राजस्व संकलन भयो त्यो सन्तोषजनक मान्नुपर्ने उहाँको भनाइ छ ।

कास्की जिल्लामा मात्र झण्डै ८६ हजार करदाता भए पनि ३९ प्रतिशतले व्यवसाय नवीकरण गर्न नसकेको कार्यालयका शाखा अधिकृत पूर्णबहादुर बरामले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर