सरकारले राजदूत फिर्ता बोलाउने निर्णय प्रधानमन्त्रीको भारत भ्रमणसँग नजोडिएको प्रस्टीकरण दिएको छ।
शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले नियमित प्रक्रियाअन्तर्गत सो निर्णय भएको बताइन्।
गठबन्धन परिवर्तन हुँदा राजदूत फिर्ता बोलाउने विषय विगतदेखि नै प्रचलनकै रूपमा आएको उल्लेख गर्दै शर्माले भनिन्, ‘यो फरक–फरक कुरा हो जस्तो लाग्छ मलाई । प्रधानमन्त्री जाने विषयसँग जोडिएको छैन । हाम्रा विगतका पनि सरकारका कतिपय कोलिसनहरू चेन्ज हुँदा प्रचलनको रूपमा स्थापित भयो।’
सरकार परिवर्तन हुँदा राजदूत फिर्ता बोलाउनु समीक्षाको विषय भने हुन सक्ने सञ्चारमन्त्रीसमेत रहेकी प्रवक्ता शर्माको भनाइ छ। उनले भनिन्, ‘यो ठीक–बेठीक के हो, समीक्षाको विषयचाहिँ हुन सक्छ। तर, यो प्रचलनकै रूपमा स्थापित भएको हुनाले परराष्ट्र मन्त्रालयको प्रस्तावमा ११ देशका राजदूत फिर्ता बोलाउने प्रक्रियाअन्तर्गत यो निर्णय भएको हो।’