प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संखुवासभा जान लाग्नुभएको छ । उहाँ अरुण तेस्रो जलविद्युत परियोजनाको टनेल ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुनको लागि त्यता जान लाग्नुभएको हो ।
उहाँ सरकारी उच्च अधिकारीहरुको टोलीका साथ नेपाली सेनाको हेलिकोप्टर एमआई १७ मा संखुवासभाको अम्राङ जान विमानस्थल पुग्नुभएको छ । टोलीमा ऊर्जा तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेत, मुख्य सचिव बैकुण्ठ अर्याललगायत छन् ।
टनेल ‘ब्रेक थ्रु’ पछि प्रधानमन्त्री फुकुवामा निर्माणाधीन जलविद्युत गृहको अवलोकनमा जाने कार्यक्रम छ । दिउँसो २ बजे उहाँ काठमाडौं फर्कनुहुने छ । प्रधानमन्त्री दाहाल यसअघि थानकोटको सुरुङमार्ग र सिन्धुली–मरिण डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रु कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।