प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुन लागेको बताइन् । पार्टीभित्र आन्तरिक विवाद हुँदा पनि श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकी थिइन् ।
‘प्रधानमन्त्रीले तपाईं तयार रहनुहोला भन्नुभएको छ । एक साताजतिमा निर्णय हुन सक्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले एक मन्त्री र एक राज्यमन्त्रीसहित उन्मुक्तिलाई सरकारमा सहभागी गराउने आश्वासन दिनुभएको छ ।’ पछिल्लोपटक एमालेसहितको नयाँ गठबन्धन बनेपछि नागरिक सरकारबाट बाहिरिएको थियो ।
श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने तयारी गरेकी छिन् । हाल माओवादीका हितबहादुर तामाङले उक्त मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री तामाङले मन्त्रिपरिषद् हेरफेरबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्रीज्यूले मलाई हेरफेरबारे केही भन्नुभएको छैन, जानकारी भएन,’ उनले भने ।
प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्री हेरफेरबारे जानकारी नभएको बताएको छ । ‘अहिलेसम्म मन्त्री हेरफेरबारे जानकारी आएको छैन । आवश्यकताका आधारमा होला,’ प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमल्सिनाले भने ।
प्रतिनिधिसभामा उन्मुक्तिका चार सांसद छन् । यसअघि, कांग्रेससँगको गठबन्धनमा प्रचण्डकै नेतृत्वमा श्रेष्ठ भूमि व्यवस्था तथा सहकारीमन्त्री थिइन् । सुदूरपश्चिम प्रदेश सभामा सात र लुम्बिनी प्रदेशमा चार सांसद छन् । सुदूरपश्चिममा पनि उन्मुक्ति सरकारमा छ ।
१० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएपछि सत्तागठबन्धनमा हेरफेर भैरहँदा प्रचण्डले पटक–पटक मन्त्रिमण्डलमा हेरफेर गरेका छन् । पछिल्लोपटक ३१ वैशाखमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रचण्डले जसपाका प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिना खानलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए ।
मन्त्रिमण्डल हेरफेर शृंखला
२०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७, ३ वैशाख २०८०, वैशाख ५, वैशाख २०, वैशाख २४, जेठ ९, साउन २९, फागुन २१, फागनु २३, फागुन २७, चैत १२ र ३१ वैशाख २०८१