काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन आग्रह गरेका छन् ।
एक अन्तर्वार्ताका क्रममा उनले लामिछानेलाई भनेका छन्— नैतिक प्रदर्शन गरेर जनतालाई आशा जोगाइदिनुस् । राजीनामा दिएर संसदीय छानबिन समिति बनाउनमा सघाउनुस् ।
अगाडि उनले भने— राजीनामा दिने वा नदिने भन्नेबारे नैतिकताको सन्दर्भमा हामीले भन्दा उहाँले जान्नुहुन्छ, किनकि उहाँको राजनीतिक मूल एजेन्डा नै नैतिकता हो । पुरानो दल, पुरानो नेतामाथि नैतिक प्रश्न उठाएर जनताबाट अनुमोदित हुनुभएको हो उहाँ । तर, यो चक्रमा पसिसकेपछि ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ हुने हो भने त जनतालाई निराशाबाहेक के दिन्छौँ ?
उनले प्रतिनिधिसभा नागा-जोगीहरू भेला हुने कुम्भ मेलाजस्तो बनेको बताए । “संसद्मा व्यवस्था विरोधी मनोविज्ञान बनिरहेको छ । त्यहाँ कुनै बौद्धिक काम भएको छैन । यो कुम्भ मेलाजस्तो भयो,” उनले भने ।