नेभिगेसन मेनु

नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस
सम्पादक:南亚网络电视
समय:2024-05-18 12:07

police2024-05-18-06-42-35

नेपाल प्रहरीमा रिक्त चार नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो । गृहसचिव एकनारायण अर्याल नेतृत्वको समितिले कार्यसम्पादन मूल्यांकन र प्रतिस्पर्धीहरूको कार्यक्षमता हेरेर सिफारिस गरेको थियो । समितिको सदस्यमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर तथा सदस्यसचिवमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) भीमप्रसाद ढकाल थिए ।

सिफारिस भएकामध्ये पोखरेल सिनियर ब्याचका हुन् । उनी वरीयता सूचीमा पहिलो नम्बरमा थिए । उनले आगामी चैतमा अवकाश पाउँदै छन् । बढुवा सिफारिस भएका कार्की, केसी र अधिकारी प्रहरीमा भावी महानिरीक्षकका दाबेदार हुनेछन् । ०८२ को कात्तिकमा यही ब्याचबाट प्रहरी नेतृत्व चयन हुनेछ । पछिल्लो ब्याचबाट बढुवा सिफारिस भएका तीनैजना व्यावसायिक रूपमा अब्बल छवि बनाएका अधिकृत हुन् । 

कार्की र केसी बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गरेका अधिकारी हुन् । कार्की जिल्ला प्रहरी परिसर, काठमाडौं तथा केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा शरणार्थी प्रकरणमा उच्च तहसम्मका व्यक्तिलाई कानुनी दायरामा ल्याएका थिए । त्यसअघि पनि विभिन्न कार्यालयमा रहँदा कार्यक्षमता र इमानदारी देखाएका अधिकृतका रूपमा उनीहरूको पहिचान छ ।

एसएसपीका रूपमा अहिले पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कर्णाली प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेका कार्की आइजिपीको सचिवालयमा, केसी प्रहरी प्रधान कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय र अधिकारी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा कार्यरत छन् । 

बढुवा हुँदा पोखरेलले ७४.७४, कार्कीले ७३.९७, केसीले ७३.७२ र अधिकारीले ७३.४७ नम्बर प्राप्त गरेको बढुवा समितिले जनाएको छ । ज्येष्ठता, कार्यक्षमता, दुर्गममा काम गरेको, शैक्षिक योग्यता, जोखिमपूर्ण काम गरेकालगायतका आधारमा बढुवा समितिले नम्बर दिने गरेको छ । ‘मुख्यगरी कार्यक्षमता र इमानदारीलाई हेरेर बढुवा गरिएको हो,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर