काठमाडौं महानगरपालिका–५ ले युवा र बालबालिकालाई लक्षित गर्दै स्पोर्टस् पार्क निर्माण गर्ने भएको छ । वडाले हाँडीगाउँ पहेँलो पुलस्थित सार्वजनिक जग्गामा पार्क बनाउन लागेको हो ।
वडाध्यक्ष वीरेन्द्र प्रजापतिका अनुसार जेठ अन्त्यबाट पार्क निर्माण सुरु हुनेछ भने यही वर्षभित्रै सञ्चालनमा आउनेछ । ‘पार्क निर्माणको प्राविधिक काम सकिएको छ । केही दिनमा ठेक्का खोलिँदै छ,’ वडाध्यक्ष प्रजापतिले भने, ‘ज्येष्ठ नागरिक भवननजिकै निर्माण हुन लागेको यो पार्कले ज्येष्ठ नागरिक र युवा पुस्ताबीचको दूरी कम गर्नसमेत सहयोग गर्ने विश्वास छ ।’ पार्कमा फुटसल, बास्केट बल, ब्याटमिन्टन, टेबलटेनिस कोर्ट, स्मार्ट शौचालय र फल्चा (पाटी) निर्माण हुनेछ । करिब ६ रोपनी जग्गामा पार्क निर्माण हुन लागेको हो ।
अतिक्रमणमा परेको जग्गालाई वडाले आफूमातहत ल्याएर पार्क निर्माण अगाडि बढाएको हो । व्यक्तिले अतिक्रमण गरेको जग्गा वडाले ०७६ मा आफूमातहत ल्याएर तारबार गरेको थियो । सोही जग्गामा महानगरले पार्क निर्माण गर्न लागेको हो । पार्क निर्माणपछि स्थानीयसँग छलफल गरी व्यवस्थापनका लागि केही शुल्कसमेत उठाउने वडाको योजना छ ।
‘पार्क निर्माणपछि मर्मत–सम्भार गर्नुपर्यो । पार्कभित्र निर्माण हुने शौचालय सरसफाइमा ध्यान दिनुपर्यो । सरसफाइ पनि गर्नैपर्यो । पार्क निर्माणपछि यी कामका लागि कसरी अगाडि बढ्ने भनेर समुदायसँग छलफल गर्छौँ । र शुल्क निर्धारण गर्छौँ,’ अध्यक्ष प्रजापतिले भने । पार्क निर्माणका लागि महानगरले तीन करोड ६ लाख ६० हजार छुट्याएको छ । पार्क बनाउन महानगरले ११ जेठमा ठेक्का खोल्दै छ ।