काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुदै छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ हिजो नसकिएपछि आज पनि बहस हुने भएको हो ।
उनको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको फैसला हिजै सक्ने तयारी थियो ।
मुद्दाको फैसला सुनाउदा राती हुने भएपछि आज सक्ने गरि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय भट्ट र उप्रेतीले नै आज फैसला सुनाउनेछन् । दुवै पक्षका वकिलहरुको बहस सकिएपछि दुवै पक्षबाट जवाफी बहससमेत हुनेछ । त्यसपछि फैसलाको प्रक्रियामा जानेछ । आज दिउँसोसम्ममा फैसला आउने अपेक्षा गरिएको छ ।
फैसला सन्दीपको पक्षमा आए उनी तत्काल क्रिकेटमा फर्किन सक्नेछन र टी–२० विश्वकपमा सहभागी हुन सक्नेछन् । नेपाल क्रिकेट संघ क्यानले पनि उनको फैसला पर्खेर बसेको छ । यदि उच्च अदालतले जिल्ला अदालतको फैसला कायम राखेको खण्डमा सन्दीपको निलम्बन जारी रहनेछ । उनी क्रिकेटमा फर्किन सक्ने छैनन् ।
यदि उच्चले जिल्लाकै फैसला सदर गरेमा सन्दीपसँग अन्तिम विकल्पका रुपमा सर्वोच्चमा पुनरावेदन गर्ने अवसर हुनेछ । पुनरावेदनको फैसला नआउञ्जेल उनी पक्राउ त पर्दैनन्, तर क्रिकेटमा फर्किने अवस्था हुने छैन । गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।