जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले सोमबार जिल्लाको महादेवा गाउँपालिका १ चिम्टीका आगलागी पीडित परिवारलाई सात लाख ८५ हजार नगद राहत वितरण गरेको छ ।
समितिले पीडित परिवार सङ्ख्या पाँच जना सम्मलाई १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारलाई २० हजारका दरले नगद रुपियाँ वितरण गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।
आगलागी पीडित १९ परिवारलाई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । २०८१ वैशाख १८ गते आगलागी हुँदा ४६ घर परिवारको घर जलेर स्वाह भएको समितिले जनाएको छ । आगलागी पीडितको नागरिकता, घरयकिन र मतदाता विवरण लगायत तथ्यगत विवरण सङ्कलनमा केही समय लागेकोले नगद राहत वितरण केही ढिलो भएको प्रजिअ थापाले बताउनुभयो ।
राहत वितरण कार्यक्रम महादेवा गाउँपालिका अध्यक्ष सुनिलकुमार मण्डल, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह र राष्ट्रिय अनुसन्धान सप्तरी प्रमुख सुरेन्द्र कोइराला, वडाध्यक्ष जयकिशोर दास र वार्ड सदस्य कमल पर्सेया, सप्तरी यूथका कावा अध्यक्ष मोहन यादव लगायतको उपस्थिति रहेको थियो ।