काठमाडौं । सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका छन् ।
बैठक आइतबार दिउँसो २ बजे सिंहरदरबारस्थिति सभामुख घिमिरेको कार्यकक्षमा बस्ने उनको सचिवालयले बताएको छ ।
बैठकमा नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्ने भनिएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा वाचन गर्ने तयारी छ । त्यसका लागि बैठक समेत आह्वान भइसकेको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । वैशाख २८ मा सुरु भएको बजेट अधिवेशनको पहिलो दिन पनि उसले अवरोध गरेको थियो । साथै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने संयुक्त बैठक समेत अवरोध गर्ने संकेत गरेको छ ।