काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले केपी ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
उनले झापास्थित गिरीबन्धु चिया बगानको तीन सय बिगाहभन्दा बढी जग्गा साटफेर गर्न दिने तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई कारबाही गनुपर्ने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत बालेनले कारबाहीको माग गरेका हुन् ।
उनले लेखेका छन्,‘झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चका संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ ।’
उनले अब त्यहाँ कि चिया बगान हुने कि त त्यो जग्गा सरकारको हुने भन्दै प्रश्न गरेका छन् । उनका अनुसार यो जग्गा अहिलेको अवस्थामा १० अर्ब भन्दा धेरै मूल्यको रहेको छ ।
‘अब तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनुपर्छ यो सरकारले,’उनले भनेका छन्,‘जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रक्रियाबाट बैना फिर्तामा जानु होला तपाईंहरूको जग्गा प्राप्तिको बाटो सकिएको छ ।’
देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल भएको भन्दै उनले कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई धन्यवाद समेत दिएका छन् ।