नेभिगेसन मेनु

भारतले पहुँच मार्ग निर्माण गर्न खोल्यो ट्र्याक
सम्पादक:南亚网络电视
समय:2023-05-09 12:48

Untitled-2-Recovered

राष्ट्रिय गौरवको आयोजना दोधारा चाँदनी–सुक्खा बन्दरगाह निर्माण स्थलसम्म पहुँच मार्ग निर्माणमा भारतीय पक्षले तीव्रता दिएको छ । चार लेनको उक्त सडक  तीन किलोमिटर ८२८ मिटर रहेको छ । 

भारतको मुख्य राजमार्गसँग निर्माणाधीन सुक्खा बन्दरगाह र महाकालीमा बनेको चार लेनको पुलसहितको सडक जोडिने बताइएको छ ।पहुँच मार्ग निर्माणका लागि ट्र्याक खोल्ने काम सकिएको भारत सरकारका राष्ट्रिय राजमार्ग प्राधिकरण लिमिटेडका जनरल मेनेजर अनिलकुमार मौर्याले बताउनुभयो । 

राष्ट्रिय राजमार्ग प्राधिकरणले आफँै निर्माण गरिरहेको राष्ट्रिय राजमार्गसँग जोड्न भारतको चक्करपुरबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१, गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँच मार्गको ट्र्याक खोल्ने काम तीव्र पारेको हो । भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्र्याक खोलेको र यसले बन्दरगाह बन्ने बाटोमा एउटा इँटा थपिएको  दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले बताउनुभयो । 

दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ पहुँच मार्ग क्षेत्रमा पर्ने भारतीय वनका दुई हजार २६२ रुख काट्नु परेको मेनेजर मौर्याले बताउनुभयो । 

“मार्च ३ बाट १८ महिनामा सक्ने गरेर काम सुरु गरेका छौँ । अहिले रुख काट्ने र ट्र्याक खोल्ने काम सकिएको छ । समयमै काम पूरा हुन्छ,” उहाँले भन्नुभयो, “पहुँच मार्गमा पर्ने २६२ रुख काटेर ट्र्याक खोलेका हौँ ।” ट्र्याक खोलिएसँगै अब पहुँच मार्ग कालोपत्रेको काम अगाडि बढ्ने प्राधिकरणका मेनेजर मौर्याले बताउनुभयो । नेपाल सरकारले दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने कार्य तीन वर्षभित्र सक्ने तयारी गरेको छ । दुई दशक अघिदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणको काममा छिट्टै ‘एमओयु’ हुने आश्वासन केही दिनअघि कञ्चनपुर आएका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले पत्रकार सम्मेलनमा बताउनुभएको थियो ।  

सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्न भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “संरचना भारतले बनाउने समझदारी भइसकेको छ । अहिले इआइए गर्ने काम अन्तिम चरणमा छ ।” अब छिट्टै बन्दरगाह निर्माण सम्पन्न हुँदै छ । 

सो आयोजना निर्माण गर्न मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब २८० बिघा जमिन प्रयोग हुने छ । यसअघि दोधारा चाँदनी–७, कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो तर स्थानीयले विरोध गरेपछि बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी–१ मा पर्ने दुईवटा सामुदायिक वनलाई प्रस्ताव गरिएको हो । 

सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुलको हालै निर्माण पूरा भइसकेको छ । यसका साथै नेपालतर्फको पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको ७.८ किलोमिटर पहुँच मार्ग निर्माण भइरहेको छ । सो सडकको एक हजार दुई सय मिटर मात्र पक्की गर्न बाँकी छ । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पूरा भएमा सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

दोधारा चाँदनी नाकाबाट भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुर सबैभन्दा नजिक पर्छन् । यहाँबाट भारतको राजधानी नयाँदिल्ली करिब तीन सय किलोमिटर र रुद्रपुर ९७ किलोमिटरको दूरीमा पर्छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर