नेभिगेसन मेनु

बालविवाह रोक्न चुनौती बन्यो प्रेमविवाह
सम्पादक:南亚网络电视
समय:2023-02-10 13:26

Untitled-1

बागलुङ, माघ २७ गते । बागलुङको गलकोट नगरपालिका–९ बास्खोलाकी १७ वर्षीया अमृता सुनारले (नाम परिवर्तन) गत वैशाखमा गलकोट नगरपालिका–७ मल्म सिरवारेमा प्रेमविवाह गर्नुभयो। उहाँ कक्षा ९ मा अध्ययन गर्दागर्दै भागेर विवाह गर्नुभएको हो। 

सुनार हाल आठ महिनाको गर्भवती हुनुहुन्छ। पठनपाठनका लागि नियमित विद्यालय जानुपर्ने उमेरमा उहाँ मासिक गर्भ परीक्षण गर्न मल्म स्वास्थ्य चौकी जानुहुन्छ। आफ्नो गर्भमा रहेको बच्चा र स्वास्थ्य अवस्थाबारे नियमित जाँच गर्ने जानकारी उहाँले विद्यालयबाटै सिक्नुभएको हो। 

गाउँघरका स्वास्थ्य स्वयंसेविकाले पनि प्रत्येक महिना स्वास्थ्य चौकीमा पुगेर गर्भ परीक्षण गर्नुका साथै आइरन चक्की, क्याल्सियम चक्की खाना सुझाउने गरेको सुनारले बताउनुभयो। विवाहपहिले बच्चा जन्माउने योजना थिएन। श्रीमान् पनि विद्यार्थी नै भएको हुँदा विवाह गरे पनि आमाबुवा आफ्नै खुट्टामा उभिएपछि बन्ने योजना थियो। यद्यपि आमाबुवा पछि बन्ने योजना एकाएक परिवर्तन भयो। 

गलकोट नगरपालिकामा प्रेम विवाह गरी आमा बन्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ। यसको नियन्त्रणका लागि बालमैत्री नगरपालिका घोषणाको अभियानमा जुटेको छ। बालमैत्री नगरपालिका घोषणाका लागि बालविवाहमुक्त नगरपालिका हुनु अनिवार्य छ। जसका लागि नगरपालिकाले बालविवाह निरुत्साहनका लागि विभिन्न सचेतनामूलक कार्यक्रमका साथै कानुन कार्यान्वयनमा समेत जोड दिएको छ। अमृताको विवाह हुनुपूर्व गाउँमै भएका दुईवटा बालविवाह जनप्रतिनिधिको उपस्थितिमा आपसी समझदारीमा बदर गरिएको थियो। 

विवाह बदर हुने डरले बच्चा जन्माउन हतार

उमेर नपुगी विवाह गरेको हुँदा समाजले छुट्याउने डरले दुवै जना तत्काल बच्चा जन्माउने निष्कर्षमा पुगेको सुनारको भनाइ छ। “हामीले बालविवाह गरेको थाहा भएपछि बालमैत्री अभियानले छुटाउने डर भयो,” परियारले भन्नुभयो, “परिवारका सदस्यले पनि गर्भ रहे समाजले छुटाउन नसक्ने सुझाव दिएपछि आमा बन्न तयार भएकी हुँ।”

सोही स्थानकी झुपा परियार (नाम परिवर्तन) उमेरले भर्खर १८ वर्षको हुनुभयो। उहाँले गत वर्ष विवाह गर्नुभएको हो। परियारको पेटमा पनि सात महिनाको बच्चा हुर्किरहेको छ। बागलुङको ताराखोला गाउँपालिकाबाट सिरवारेमा प्रेमविवाह गर्नुभएकी परियार पनि बालविवाहको निहुँमा विवाह बदर हुने डरले आमा बन्न तयार भएको बताउनुभयो। 

सिरवारेमा मात्रै २० वर्षमुनिका चार जना बालिका गर्भवती छन्। एक जना बालिका एक महिनाअघि आमा बनेको स्थानीय महिला स्वास्थ्य स्वयंसेवीका सुनामी परियारले जानकारी दिनुभयो। “सिरवारेमा बालविवाह रोक्न कठिन भएको छ,” स्वयंसेविका परियारले भन्नुभयो, “विगतमा जस्तो अभिभावकले बालविवाह गर्ने चलन छैन, अहिले आफैँ जाने र आफैँ ल्याउने चलन बढेको छ।” दलित समुदायको बाक्लो बस्ती रहेको सिरवारेमा व्यापक जनचेतना अभाव रहेको परियारको भनाइ छ।

त्यहाँ करिब ६५ घरधुरी दलित समुदायको बस्ती छ। “मागेर बालविवाह हुने भए कानुनी कारबाही हुन्थ्यो,” परियारले भन्नुभयो, “विद्यालयबाटै भागेर जानेलाई के गर्ने।” बालविवाह भएको थाहा पाएपछि विवाह बदर गरे पनि बालबालिका विक्षिप्त हुने समस्या आउने गरेको उहाँको भनाइ छ। 

सानो उमेरमा आमा बन्दा स्वास्थ्यमा गम्भीर समस्या देखापर्ने मल्म स्वास्थ्य चौकीका इन्चार्ज अनिता कार्कीले बताउनुभयो। “विवाह बदर हुने डरले धेरै बालिका गर्भवती भएको बताउँछन,” स्वास्थ्यकर्मी कार्कीले भन्नुभयो, ‘‘माथिल्लो विशेष गरी दलित बस्तीमा स्वास्थ्य सचेतना अभाव देखिन्छ।” आफ्नै स्याहार गर्न नसक्ने आमाले नवजात शिशुको हेरविचार तथा पोषणमा ध्यान दिन नसक्ने उहाँको भनाइ छ। 

गाउँघरमा भागेर हुने बालविवाहका घटना नगरपालिकामा दर्ता नभएको गलकोट नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले बताउनुभयो। “बालमैत्री नगर अभियान घोषणापछि औपचारिक रूपमा हुने बालविवाह छैनन्,” उहाँले भन्नुभयो, “अनौपचारिक रूपमा हुने विवाहबारे घटना दर्ता भएको पाइँदैन। नगरपालिकाले उपलब्ध गराउँदै आएको चार हजार पाँच सय रुपियाँ बालिका आमालाई पनि दिने गरिएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर