नेभिगेसन मेनु

भेडाबारीको एक किलोमिटर सडकखण्ड कालोपत्रे
सम्पादक:南亚网络电视
समय:2023-02-07 12:59

Untitled-1

नवलपरासी, माघ २४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कामले तीव्रता पाएसँगै भेडाबारी सडकखण्डको एक किलोमिटर सडक परीक्षणका रूपमा कालोपत्रे गरिएको छ । 

कालोपत्रे गरिएको सो सडकको नमुना परीक्षणसमेत सफल भएको छ । अब सडक कालोपत्रेको काम अघि बढाइने बुटवल–नारायणगढ सडकखण्डको ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडकको काम अहिले पनि तीव्र गतिमा भइरहेको दाबी गरिएको छ भने विभिन्न ठाउँको माटो भर्ने र सम्याउनेलगायतका काम सकिएको छ । ती ठाउँमा पनि तरुन्तै कालोपत्रे गरिनेछ । 

आगामी असार मसान्तसम्म ५० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम अघि बढेको परियोजनाका इन्जिनियर झाले बताउनुभयो । चिनियाँ ठेकेदार कम्पनीले निकै चासोका साथ बुटवल–नारायणगढ सडकखण्ड निर्माण गरिरहेको बताइएको छ । 

चीनबाट समेत ठेकेदारले एक अर्ब ५४ करोड रकम ल्याएर यो सडक निर्माण कार्यलाई थप तीव्रता दिएको इन्जिनियर झाको भनाइ छ । ४८ महिनाअघि सम्झौता भई निर्माण कार्य अघि बढेको सो आयोजनाको ३० प्रतिशतभन्दा बढी काम सकिएको छ । सडकमा पर्ने रुख कटान, बिजुलीको पोल गाड्ने, राजमार्गमा रहेका ठूला पुल र साना कल्भर्ट निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । 

कालोपत्रेको काम मात्रै बाँकी रहने र त्यो काम पनि सकिएको विभिन्न ठाउँमा कालोपत्रे गर्ने काम सुरु भइसकेको आयोजनाले जनाएको छ । 

निर्धारित मितिअनुसार ४२ महिनामा सम्पन्न हुन नसकेर पुनः एक वर्ष म्याद थपिए पछि बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्यले तीव्रता पाउन थालेको हो । सर्वसाधारणमा अब भने सो सडक निर्माण पूरा हुने आशा पलाएको छ । अहिले ३० प्रतिशत बढी काम सकिएको र छ महिनाअघि सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि सडक निर्माणले तीव्रता पाएको बुटवल–नारायणगढ सडकखण्डको सरकारी पक्षका प्रमुख इन्जिनियर रमेश दृष्टि बताउनुहुन्छ । 

सो सडकखण्डमा दिनरात निर्माण कार्य भइरहेको छ, ठेकेदार पक्षले धमाधम कामलाई तीव्रता दिइरहेको छ भने अहिले आयोजना सम्पन्न हुनेमा स्थानीयवासीमा समेत आशा पलाएको देवचुलीका राजन अधिकारीले बताउनुभयो । 

सो आयोजनाको गैँडाकोट दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्डका रूपमा स्वीकृत भई झन्डै १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले ४२ महिनाअघि ठेक्का पाएको थियो । ठेक्का सुरु भएको एक हजार २७८ दिन अर्थात् ७ जुलाई २०२२ मा ११३ किलोमिटर बुटवल–नारायणगढ सडक निर्माण सक्ने सम्झौतामा उल्लेख भए पनि सुरुको ४२ महिनामा १८ प्रतिशत काम भएको थियो । 

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सुरु भएको यो आयोजना राष्ट्रिय गौरबका आयोजनका रूपमा रहे पनि कामले गति लिन नसक्दा सम्झौता अवधिभन्दा झन्डै दुई वर्ष आयोजना धकेलिने र सन् २०२४ सम्म आयोजना सम्पन्न हुने जनाइएको छ  ।

सो आयोजनाले सडकमा रहेका दुईतर्फी गरेर चार हजार ८३९ विद्युत्को पोल सार्ने काम भइरहेको, एक हजार २५ वटा टेलिफोनको पोल, २०२ सोलार पोलसमेत सार्ने कार्य भइरहेको आयोजनाका सरकारीस्तरका सडक विभागका प्रमुख इन्जिनियर रमेश दृष्टिले बताउनुभयो । 

यो आयोजनामा ४३ वटा ठूला पुल, ३९ वटा साना पुल ४६२ वटा कल्भर्ट पुल निर्माण अन्तिम चरणमा पुुगेको छ भने बजार क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो । 

अहिले यो सडकखण्डमा ६५ जना चिनियाँ र २६५ जना नेपाली प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको सरकारी पक्षको काम हेर्ने सडक डिभिजनल कार्यालय बुटवलले आयोजनाको काम र त्यसको निरूपण गर्ने निकाय ठेकेदार र मन्त्रालय भएकाले सडक डिभिजनले निरीक्षण गरी समयमा सडक निर्माणको काम अगाडि बढेको जनाएको छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर