
काठमाडौँ, चैत १३ गते । बागलुङमा जारी कालिका कप खुला पुरुष भलिबल प्रतियोगितामा घले हार्भेस्टिङ अस्टे«लिया र गौडाकोट भलिबल सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको क्वाटर फाइनल खेलमा आ—आफ्ना प्रस्पिर्धी टिमलाई पन्छाउँदै सेमिफाइनल पुगेका हुन् । घले हार्भेस्टिङ अस्ट्रेलियाले भिमापोखरा खेलकुद विकास समिति र गौडाकोट भलिबलले बागलुङ भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । शुक्रबार अन्य दुई क्वाटर फाइनलसँगै महिला भलिबल खेल सञ्चालन हुनेछ ।
पुरुष भलिबल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको र लिक कम नकआउटको आधारमा खेलाईएको चैत्राष्टमी मेला व्यवस्थापन समितिका भलिबल संयोजक सचिन खड्काले जानकारी दिनुभयो । महिला भलिबल खेलमा ७ समूहको सहभागिता रहेको छ । महिला भलिबल पनि लिक कम नकआउटको आधारमा खेलाईनेछ । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद तीन लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद एक लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।
महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ ।
परापूर्व कालदेखि नै परम्परागत रपमा स्वतःस्फुर्त लाग्दै आएको मेला अहिले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले व्यवस्थीत रुपमा आयोजना गरेर विभिन्न प्रतियोगिताहरु आयोजना गरेको अध्यक्ष भुपेन्द्र खड्काले बताउनुभयो । मेलाको आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती, रमाईलो मेला, बाल उद्यान, घरेलु तथा स्थानीय वस्तुहरुको खरिद विक्री लगायतका रहेका छन् ।





