
काठमाडौँ, चैत ११ गते । धनकुटाको हिलेमा मंगलबारदेखि १८औँ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिवल प्रतियोगिता सुरु भएको छ । हिले भलिवल क्लबको आयोजनामा हिले खेलमैदानमा भएको उद्घाटन खेलमा भोजपुरको राम प्रसाद राई गाउँपालिका बिजयी भएको छ । राम प्रसाद राईले भोजपुरकै हतुवागढी गाउँपालिकालाई सेट स्कोर १९–२५, २५–२३, २४–२६, २५–०९, १५–१० ले पराजित गरेको हो ।
प्रतियोगितामा हतुवागढी र राम प्रसाद राईसहित धनकुटाको पाख्रिवास नगरपालिका र महालक्ष्मी नगरपालिका, भोजपुरको अरुण र आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, संखुवासभाको सभापोखरी गाउँपालिका र झापाको कन्काई नगरपालिका गरी ९ टिम सहभागी छन् । यसबारे क्लबका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।
विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख १ हजार १११ रुपियाँसहित ट्रफी र मेडल पाउनेछन् । प्रतियोगिताको फाइनल खेल रामनवमी अर्थात चैत १३ गते हुने कार्यक्रम तय गरिएको छ ।
हिलेमा रामनवमी भलिवल प्रतियोगिता सन् १९९८ (२०५५ साल)देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।





