
काठमाडौँ, पुस १८ गते । १३औँ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै युवामुखी पत्रकारितामा योगदान पुर्याउँदै आएका पत्रकार भोजराज थापा सम्मानित हुनु भएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री माननीय जगदिश खरेलले पत्रकार थापालाई सम्मान प्रदान गर्नु भएको हो ।
परोपकारी भावनालाई आत्मसात गर्दै पत्रकार भोजराज थापाले देशका विभिन्न भागमा सामाजिक सहयोगका कार्यहरू गर्दै आएका छन्। विपन्न, पीडित तथा पछाडि पारिएका वर्गका समस्या उजागर गर्दै उनले उनीहरूलाई आवश्यक सहयोग र न्यायको आवाज दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनका पहलका कारण धेरै नागरिकले प्रत्यक्ष रूपमा सहयोग पाएका छन् भने कतिपय आवाजविहीन समुदायका पीडा राज्य र सम्बन्धित निकायसम्म पुग्न सफल भएका छन्।
सामाजिक पत्रकारितालाई माध्यम बनाउँदै थापाले प्राकृतिक विपद्, आर्थिक अभाव, स्वास्थ्य समस्या तथा सामाजिक अन्यायका विषयहरूलाई निरन्तर उठाउँदै आएका छन्। सहयोगका अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै उनले केवल समाचार सम्प्रेषणमा मात्र सीमित नरही मानवीय सेवामा समेत आफूलाई समर्पित गरेका छन्।
पत्रकार थापालाई सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै युवामुखी पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
पत्रकार थापा को पत्रकारिताले आम नागरिकका आवाज, सामाजिक न्याय, संस्कृति संरक्षण तथा समसामयिक मुद्दालाई सशक्त रूपमा उजागर गर्दै आएको भन्दै आयोजक संस्थाले उहाँको योगदानलाई उदाहरणीय रहेको उल्लेख गरेको छ ।
केहि दिन अगाडि मात्रै राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई राप्ती पत्रकारिता पुरस्कार -२०८२ प्रदान गरी सम्मानपत्रसहित सम्मान प्रदान गरिएको थियो । एक हप्ता नपुग्दै थापा लाई फेरि अर्को सम्मान प्रदान भएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७० सालदेखि नेपालको राष्ट्रिय औपचारिक पोशाकको पहिचान र प्रवर्धन गर्ने उद्देश्यले सुरु गरेको राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस अभियानले यस वर्ष १३ वर्ष पूरा गरेको छ ।
पुस १७ गते दिउँसो नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वहरूलाई अभिनन्दन तथा सम्मान गरिएको हो। कार्यक्रम संस्थापक तथा अध्यक्ष राजानन्द माण्डव्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा राष्ट्रिय झण्डाका पुनः ढाँचाकार वरिष्ठ इन्जिनियर शङ्करनाथ रिमाल, नेपाल जेसिज २०२६ का अध्यक्ष जीवन कार्की, मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल, टोपी अभियन्ता शङ्कर बन्जाडे, गीतकार लोकराज अधिकारी, तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल, लेखिका अर्चना झा, आध्यात्मिक प्रवाचक संजेलजी महाराज, दिपकिशोर भट्टराई, कबिन्द्र न्यौपाने (बामन) लगायतलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो ।
संसारभर रहेका नेपालीलाई पोशाक, टोपी र सांस्कृतिक पहिचानमार्फत एकताबद्ध गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियानले नेपाली मौलिकता र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको आयोजकको निष्कर्ष रहेको छ ।





