
नेपालगन्ज, मङ्सिर २७ गते । करिब ५० वर्षअघि कानुन बने पनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेसन नेपालगन्जस्थित आइसिपीबाट देशमै पहिलो पटक सुरु गरिएको छ । यस प्रक्रियामा काठ तथा जडीबुटीलाई एकदमै बन्द ठाउँमा राखेर मिथाइल ब्रोमाइड ग्यास छाडेर कीटाणु र कीट नियन्त्रण गरेर स्वच्छ बनाइन्छ ।
सल्लाको आँख्लालगायत केही काठजन्य वस्तु र जडीबुटीको निर्यातमा भारत सरकारले मिथाइल ब्रोमाइड फ्युमिगेसनलाई अनिवार्य गरेका कारण निकासी रोकिएको थियो । त्यसरी निर्यात रोकिँदा दुई हजार मेट्रिक टन सल्लाको आँख्ला अब निकासी हुन थालेको छ ।
निरन्तरको दबाब र प्रयासपछि हाल आएर पहिलो पटक यहाँस्थित आइसिपीमा मिथाइल ब्रोमाइड फ्युमिगेसन सुरु भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले सल्लाको आँख्लालगायतका केही काठजन्य वस्तु र जडीबुटीको निर्यातमा भारत सरकारले मिथाइल ब्रोमाइड फ्युमिगेसनलाई अनिवार्य गरेपछि दुई वर्षदेखि ती जडीबुटी व्यवसायीका गोदाममै थन्किएको बताउनुभयो ।
उहाँले सबैको साझा प्रयास र दबाबपछि बिहीबारदेखि सुरु गरिएकोमा पहिलो पटकमै ४० मेट्रिक टन सल्लाको आँख्लाको मिथाइल ब्रोमाइड फ्युमिगेसन गरिएको बताउनुभयो ।
त्यसको थालनी गराउन नेपालगन्ज आउनुभएका नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको राष्ट्रिय प्लान्ट क्वारन्टिन कार्यव्रmमका उपसचिव प्रकाश पौडेलले कानुन बनेको ५० वर्षपछि देशमै पहिलो पटक यसको सुरुवात गराउन पाउँदा अति नै खुसी लागेको बताउनुभयो ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका सल्लाहकार तथा व्यवसायी रवीन्द्रनाथ शुक्लाले अब नेपालगन्जमा थन्किएको र पहाडी जिल्लामा सङ्कलन भएर राखिएका करिब सय कन्टेनर सल्लाको आँख्लाको निर्यात सुरु भएको बताउनुभयो ।
उहाँले जाजरकोट, सल्यान, दैलेख, रुकुमलगायतका जिल्लाबाट सल्लाको आँख्ला धेरै आउने गरेको जनाउँदै ती जिल्लामा पनि ठुलो परिमाणमा सङ्कलन गरेर राखिएका सल्लाका आँख्लाको निर्यात सुरु हुने बताउनुभयो ।
उता सल्लाको आँख्लाको निर्यातमा सरकारले सय प्रतिशत कर लगाएकामा बाँकेका जडीबुटी व्यवसायीले सो कर घटाउनुपर्ने माग गर्दै आएका छन् । हालै मात्र नेपालगन्ज आउनुभएका अर्थमन्त्री रामेश्वर खनालसँग पनि सल्लाको आँख्लाको मिथाइल ब्रोमाइड फ्युमिगेसन सुरु गर्न र निर्यातमा लगाइएको सय प्रतिशत कर घटाउन व्यवसायीले माग गरेका थिए ।
अर्थमन्त्री खनालले मिथाइल ब्रोमाइड फ्युमिगेसन तत्काल सुरु गर्न लगाउने र निर्यात करबारे मन्त्रालयमा छलफल गरेर सकारात्मक निकास निकाल्ने आश्वासन दिनुभएको थियो ।





