
काठमाडौँ — करिब दुई वर्षअघि नेपाल वायुसेवा निगमको लुम्बिनी नामक न्यारोबडी विमानका दुई इन्जिन मर्मत तथा एउटा भाडामा ल्याउने प्रक्रियाबाट उत्पन्न विवाद अब समाधानतर्फ उन्मुख भएको छ। लामो समयदेखि अवरुद्ध भुक्तानी प्रक्रिया नयाँ महाप्रबन्धक अमृतमान श्रेष्ठले अघि बढाएपछि विवाद टुंगोमा पुग्ने संकेत देखिएको हो।
यसअघि कार्यकारी अध्यक्ष युवराज अधिकारीले इन्जिन मर्मत तथा भाडासम्बन्धी भुक्तानी रोकेका थिए। त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीद्वारा निमित्त महाप्रबन्धक तोकिएका निगमका वरिष्ठ निर्देशक जनकराज कालाखेतीले आफूलाई भुक्तानी गर्ने कानुनी अधिकार नभएको बताउँदै प्रक्रियाबाट हटेका थिए।
यहीबीच, इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीज (आइएआइ) ले नेपाल वायुसेवा निगमले पटक–पटक माग गर्दा पनि भुक्तानी नगरेपछि कडा कदम उठाउँदै सम्झौता रद्द गर्ने निर्णय सुनाएको थियो।
भाडामा चलाइरहेको इन्जिनको करिब ४२ करोड रुपैयाँभन्दा बढी बक्यौता नतिरेको आरोप लगाउँदै कात्तिक ५ गते सम्झौता रद्द भएको जानकारी इमेलमार्फत पठाइएको थियो।
त्यसपछिको अवस्था अनुसार लुम्बिनी विमान तत्कालै ग्राउन्ड हुने जोखिम उत्पन्न भएपछि, पर्यटन मन्त्रालयसमेत हेरेकी प्रधानमन्त्री कार्की विवाद समाधानमा सक्रिय भएकी थिइन्।
इन्जिनको भाडा ४२ करोड नतिरेपछि इजरायलले एनएसीसँगको सम्झौता रद्द गर्यो
यही पहलअनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कालाखेतीलाई निमित्त महाप्रबन्धकबाट हटाएर निगमकै सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धक नियुक्त गर्दै विवाद समाधानको जिम्मा दिएको थियो । महाप्रबन्धकको पत्र बुझेकै पहिलो दिनमै श्रेष्ठले विवाद समाधानतर्फका महत्वपूर्ण निर्णय गरेका छन्। उनका अनुसार पहिलो इन्जिन मर्मतबापत डेढ वर्षदेखि रोकिएको २९ करोड रुपैयाँ भुक्तानी प्रक्रियामा अघि बढाइएको छ।





