नेभिगेसन मेनु

राष्ट्रिय परिचयपत्र डिजिटल बनाइँदै, कार्ड छाप्ने काम बन्द गर्ने तयारी
सम्पादक:南亚网络电视
समय:2025-05-30 11:47

  

WeChat截图_20250530092635

एस् ए टी भी १६ जेष्ठ, काठमाडौँः सरकारले राष्ट्रिय परिचयपत्रको छपाइ बन्द गर्ने तयारी गरेको छ । हाल भौतिक रूपमा छपाइ भएर वितरण हुँदै आएको कार्डलाई अब डिजिटल कार्डमा रूपान्तरण गरेर कार्ड छपाइ बन्द गर्न लागिएको हो । 

 
 

यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कानुनी र प्रक्रियागत तयारी गरिरहेको विभागका महानिर्देशक युवराज कट्टेल बताउँछन् । 

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा छपाइको जिम्मा विभागको हो । अहिले छपाइ हुँदै आएको राष्ट्रिय परिचयपत्रमा चिप्स र क्युआर कोड दुवै प्रयोग गरिएको हुन्छ । चिप्सको लागि कार्ड छपाइ आवश्यक हुन्छ । तर, पछिल्लो समयमा चिप्सको काम समेत क्युआर कोडको सिस्टम आएपछि चिप्सको कार्ड छपाइ आवश्यक हुन छोडेकोले कार्ड छपाइ बन्द गर्ने तयारी गरेको कट्टेल बताउँछन् । 

अहिले राष्ट्रिय परिचयपत्रलाई डिजिटल परिचयपत्रमा रूपान्तरण गर्ने विषयमा स्वीकृतिका लागि विभागले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । उक्त स्वीकृति प्रक्रियासँगै विभागले आफ्नो डिजिटल कार्डका लागि प्राविधिक तयारीसमेत गरिरहेको महानिर्देशक कट्टेल बताउँछन् । 

अहिले राष्ट्रिय परिचयपत्रको नम्बर पाएका व्यक्तिले विभागकै सिटिजन पोर्टलमार्फत फोटो सहितको विवरण हेर्न सक्ने व्यवस्था उपलब्ध गराइएको छ । उक्त विवरणमा क्युआर कोड समावेश गरेर नम्बरका आधारमा जोकोहीले हेर्न सक्ने र आवश्यकताअनुसार प्रिन्ट गर्न सक्ने व्यवस्था गर्न लागिएको हो । यसबाट राज्यको खर्च घट्ने र नागरिकले पनि कार्डकै लागि सम्बन्धित निकायमा धाउनुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ छ ।

अहिले नागरिक एपमार्फत क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र हेर्न मिल्ने व्यवस्था गरिसकिएको छ । यो मोबाइलमा मात्रै चल्ने भएकोले यसलाई प्रिन्ट गर्न मिल्दैन । सिटिजन पोर्टलमा दिइने कार्ड प्रिन्ट गर्न मिल्नेगरी डिजाइन गर्न लागिएको छ । चालु आर्थिक वर्षभित्रै यो सम्पन्न हुने र कार्डलाई डिजिटल बनाउने योजना रहेको महानिर्देशक कट्टेल बताउँछन् । अहिले एउटा कार्ड छपाइबापत २ युरो (करिब ३०० रुपैयाँ) भन्दा धेरै खर्च लाग्ने गरेको छ । डिजिटल कार्ड बनेपछि यो खर्च बचत हुने उनको भनाइ छ । 

अहिले भारतले आधार कार्डमा यस्तै व्यवस्था गरेको छ । उक्त कार्डको विवरण सङ्कलन तथा बायोमेट्रिक गरेपछि नम्बर उपलब्ध गराइन्छ । त्यही नम्बरका आधारमा जुनसुकै पसलमा गएर पनि कार्ड प्रिन्ट गर्नसक्ने व्यवस्था छ । क्युआर कोडमार्फत् भारतले कार्ड छपाइमा ठुलो खर्च बचत गरेको भन्दै यहाँ पनि डिजिटल कार्डको तयारी गरिएको विभागले जनाएको छ । 

कार्डमा एउटा युनिक प्रकारको क्युआर कोड समावेश गरिन्छ । तर, त्यो क्युआर कोर्ड जोकोहीले स्क्यान गरेर हेर्न मिल्दैन । सम्बन्धित अधिकारप्राप्त व्यक्तिले प्रयोग गर्ने डिभाइसबाट स्क्यान गर्दा सम्बन्धित कार्यालयका लागि आवश्यक विवरण मात्रै देखिने व्यवस्था गरिएको कट्टेल बताउँछन् । 

‘हामीसँग व्यक्तिको सबै प्रकारको विवरण हुन्छ । हाम्रो सिस्टमले सबैको सम्बन्ध पत्ता पनि लगाउँछ । तर, सबैलाई त्यो उपलब्ध गराउन मिल्दैन, त्यो व्यक्तिको गोपनीयताको हकभन्दा बाहिरको कुरा हुन्छ,’ कट्टेल भन्छन्, ‘जसलाई जुन विवरण चाहिन्छ, त्यसलाई सम्बन्धित विवरण मात्रै देख्न मिल्नेगरी क्युआर कोड बनाइएको छ । तपाईं बैंकमा गएर क्युआर कोड देखाउनुहुन्छ भने त्यहाँ देखिने विवरण छुट्टै हुन्छ । मालपोतमा जानुभए छुट्टै होला । पासपोर्टमा जाँदा छुट्टै हुन्छ ।’

प्राथमिकताका आधारमा कार्ड छपाइ

डिजिटल कार्डमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढे पनि अहिलेसम्म विभागले विवरण सङ्कलन भइसकेका कार्डको भने छपाइलाई निरन्तरता दिइरहेको छ । यसरी कार्ड छपाइ गर्दा ७० वर्ष वा सोभन्दा धेरै उमेर भएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिने गरिएको छ । दोस्रो प्राथमिकतामा पेन्सन प्राप्त गर्ने ५८ वर्षभन्दा धेरै उमेरका व्यक्तिलाई राखिएको र तेस्रो प्राथमिकतामा सुरुमा विवरण सङ्कलन गर्नेको कार्ड छपाइलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ । 

‘हामी डिजिटल कार्डमा जाने तयारीमा छौँ । तर, अहिलेसम्म निर्णय भइनसकेकाले विवरण सङ्कलन भइसकेका सेवाग्राहीको कार्ड प्राथमिकताका आधारमा छपाइ गरिरहेका छौँ । सरकारले गर्ने निर्णयमा आधारमा बाँकी त्यसपछि कार्ड कसरी छाप्ने भन्ने निर्णय हुन्छ,’ कट्टेल भन्छन्, ‘अहिलेलाई ज्येष्ठ नागरिक, पेन्सन प्राप्त गर्ने उमेर समूहका नागरिक र सुरुमा विवरण सङ्कलन गर्नेलाई प्राथमिकता दिएर कार्ड छापिरहेका छौँ ।’  

राष्ट्रिय परिचयपत्र विभागले अहिलेसम्म देशभरका १ करोड ७५ लाखभन्दा धेरैको विवरण सङ्कलन गरेको छ । त्यसमध्ये ६९ लाख ४० हजार परिचयपत्र छपाइ गरिसकेको छ । अझै १ करोड ८ लाखभन्दा धेरै कार्ड छाप्न बाँकी छ । छपाइ भएको कार्डमध्ये ६४ लाख ६२ हजार कार्ड जिल्लामा पठाइसकेको र त्यसमध्ये २५ लाख ४ हजार वितरण भएको छ । यो गएको मंगलबारसम्मको तथ्यांक हो । अहिले विभागसँग दैनिक साढे ८ हजार कार्ड छाप्ने क्षमता छ ।

छापिएका कार्ड सक्न अभियान

विभाग अहिलेसम्म छापेका ४५ लाख कार्ड बाँड्न अभियान सञ्चालन गरिहरेको जनाएको छ । छपाइ भइसकेका करिब ४५ लाख कार्ड बाँड्न विभागले अभियान सुरु गरेको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह तथा परिचयपत्र विभागले खटाएको टोलीमार्फत कार्ड वितरण भइरहेको विभागले जनाएको छ । 

अहिलेसम्म कञ्चनपुर, झापा, चितवन र गुल्मी गरी चार वटा जिल्लामा कार्ड वितरण सम्पन्न भइसकेको छ । काठमाडौँ, मोरङ, कास्की, कैलाली, रुपन्देही, सिन्धुली र लमजुङ गरी ७ जिल्लामा विवरण दर्ता अपरेटरमार्फत कार्ड वितरण अभियान सञ्चालन भइरहेको छ । 

त्यस्तै, तनहुँ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, डडेल्धुरा, रसुवा, सिन्धुपाल्चोक र रौतहटमा एआईएस अपरेटरबाट कार्ड वितरण अभियान चलाइएको छ । 

ललितपुर र भक्तपुरमा भने पालिकास्तरबाटै कार्ड वितरण सुरु गरिएको विभागले जनाएको छ । बाँकी ७ जिल्लामा १५ नगरपालिकासँग कार्ड वितरणको लागि एमओयू गरिएको समेत विभागले जनाएको छ ।

जन्मदर्ता गर्दा राष्ट्रिय परिचयपत्र नम्बर पनि सँगै

पञ्जीकरण विभाग र राष्ट्रिय परिचयपत्र विभागलाई अहिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको रूपमा काम गरिरहेको छ । यसअनुसार अहिले दुई सेवालाई एकीकृत गर्दै जन्म दर्तासँगै राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउँदै आएको छ । 

यसअनुसार व्यक्तिले आफ्नो जन्मदर्ता गराउँदा दर्ता प्रमाणपत्रमै राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ । यसका लागि इन्टरनेट नपुगेका देशका २५ वटा वडा कार्यालयबाहेक अरू सबै क्षेत्रबाट यस्तो सेवा उपलब्ध हुने गरेको विभागले जनाएको छ । 

डोल्पाको ठूलीभेरी गाउँपालिकाका ६ वटा, सेफोक्सुन्डोका ३ वटा, मुड्केचुलाका ८ वटा, ताप्लेजुङको फक्तालुङ गाउँपालिकाको ५ वटा र मनाङको नार्फाभूमि गाउँपालिकामा ३ वटा वडामा अहिलेसम्म इन्टरनेट नपुगेकोले यो यो सेवा सुरु हुन सकेको छैन । बाँकी सबै ठाउँबाट यस्तो सेवा उपलब्ध हुने गरेको विभागको तथ्यांक छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर