एस ए टी भी २६ कार्तिक,काठमाण्डौंः जिल्लाको जैमिनी नगरपालिकामा जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङ अनुसार आज बिहान जैमिनी नगरपालिका-८ छिस्तीबाट बागलुङका लागि छुटेको ग २ च ९२४७ नम्बरको पिक अप जीप जैदी र छिस्तीको सिमाना क्षेत्रमा दुर्घटना हुँदा पाँचजनाको थियो।
उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा जीप चालक जैमिनी नगरपालिका-८ छिस्ती केवईका ३८ वर्षका महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीस र ७५ वर्षको कुलप्रसाद श्रीस रहेका छन्।
सोही ठाउँका ४५ वर्षीय गंगाबहादुर श्रीसको शरिरको विभिन्न भागमा चोट लागेको र उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल ल्याईदै गरेको प्रहरीले जनाएको छ।
जैमिनी नगरपालिका-८ छिस्तीबाट सोमबार बिहान बागलुङका लागि सवारी चालक सहित ६ जना सवार पिक अप पिक अप जीप जैमिनी नगरपालिका-७ हर्देवा पाखामा दुर्घटना भएको थियो।
जीप सडकबाट अनियन्त्रीत भई पाँच सय मिटर तल खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु हुनेहरु सबै जैमिनी नगरपालिका-८ छिस्ती केवइका छन्।