नेभिगेसन मेनु

‘जलवायु वित्त ल्याउन नेपालको कडा मिहिनेत आवश्यक’
सम्पादक:南亚网络电视
समय:2024-05-30 14:06

Un1

जेठ १७ गते । जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु वित्त ल्याउनका लागि निरन्तर मिहिनेत र प्रयास गर्नुपर्नेमा दातृ निकायका प्रमुखहरुले आग्रह गरेका छन् ।

हिमाली मुलुक नेपालमा जलवायु सङ्कट र सञ्चारकर्मीको भूमिका विषयमा सञ्चारकर्मीहरुसँगको छलफल कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम र सम्बद्ध अन्य निकायका प्रमुखहरुले जलवायु वित्त र हानी, नोक्सानी कोषबाट नेपालले रकम ल्याउन सकेमात्र जलवायु परिवर्तनको असरबाट पीडित समुदायले न्याय पाउने बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठनका आवासीय प्रतिनिधि केन सिमिजुले भन्नुभयो, ‘‘बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरले नेपाल निकै जोखिममा परेको मुलुक हो । जसका कारणले कृषि उत्पादन तथा खाद्य सुरक्षामा असर परिरहेको छ । त्यसैले आगामी दिनमा नेपालले जलवायु वित्तका लागि पहुँच बढाउनु पर्ने देखिन्छ, त्यसका लागि कडा मिहिनेत आवश्यक छ ।’’

उहाँले आफू लगायत दातृ निकायहरुले नेपालले जलवायु वित्तको अधिकभन्दा अधिक रकम सदुपयोग गरोस् भन्ने चाहाने राख्ने गरेको र त्यही अनुसार लबिङ गर्ने गरेको पनि बताउनुभयो ।

अहिलेकै प्रयास र मिहिनेतले मात्रै पर्याप्त मात्रामा जलवायु वित्तको रकम नेपाल आउन नसक्ने बताउँदै उहाँले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल गरिरहेका प्रयास सह्रानीय भएको बताउनुभयो ।

उहाँका अनुसार जसरी टापु मुलुकहरु एकजुट भएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने गरेका छन्, त्यसैगरी नेपाल लगायतका हिमाली मुलुकहरु पनि आफ्नो पक्षमा साझा मत बनाएर लाग्नुपर्ने हुन्छ । 

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालका डेपुटी आवसीय प्रतिनिधि जुलियन चेभिलर्डले बढ्दो तापक्रमले  हिमाली क्षेत्र बढी प्रभावित हुँदा जोखिम पनि उत्तिकै बढीरहेको बताउनुभयो । उहाँले नेपालको जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम सधैँ अग्रभागमा बसेर काम गरिरहेको र आगामी दिनमा पनि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले विगतमा च्छोरोल्पा र इम्जा हिमतालको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरेको स्मरण गर्दै नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय वित्त सहयोग लिन सक्नुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रममा विश्व खाद्य कार्यक्रमका रोबर्ड कास्काले हिमाली मुलुक र तल्लो तटीय टापु मुलुकहरुको समस्या मिल्न जाने गरेको र साना टापु मुलुकहरुले साझा एजेण्डाका रुपमा विश्व मञ्चमा जोडबलका साथ कुरा उठाए झैँ हिमाली मुलुकहरुले आफ्ना आवाज जोडदार ढंगले राख्नुपर्ने बताउनुभयो । अघिल्लो हप्ता नेपालमा सम्पन्न भएको हिमाल, मानव र जलवायु विषयको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनले नेपाललाई हिमाली मुलुकको नेतृत्व लिन सक्ने दिशामा डो¥याएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार जलवायु परिवर्तनको असरले खाद्य सुरक्षा र पोषणयुक्त खानामा थप चुनौती थपिएका छन् । त्यसैले जलवायु अनुकुलन हुने खेती प्रणाली नेपालमा विकास गर्न जरुरी छ ।

युनिसेफका डेपुटी आवासीय प्रतिनिधि जी ह्युन रहले जलवायु परिवर्तनले नेपालका अधिकांश बालबालिकाको स्वास्थ्य, शिक्षा तथा वृत्तिविकासमा असर पारेको बताउनुभयो ।

उहाँका अनुसार नेपालका ग्रामीण भेगका अधिकांश बालबालिकाले यसको असर भोग्नु परिरहेको छ र कुपोषण, पुड्कोपना लगायतका गम्भीर समस्याले गर्दा भविष्यका कर्णधार बालबालिकाको भविष्य पनि जोखिममा पर्दै गएको बिचार व्यक्त गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर