नेभिगेसन मेनु

हुड्को बजाएर अन्तरपुस्ता अनुभव साटासाट
सम्पादक:南亚网络电视
समय:2024-04-21 12:34

hudko

वैशाख ९ गते । बैतडीमा हुड्को बजाएर अन्तरपुस्ता अनुभव आदान–प्रदान गरिएको छ । पुराना पुस्तासँग भएको ज्ञान, सीप, प्रविधि तथा कला सम्बद्ध अनुभव साट्न यहाँ हुड्केउली र फाग सगुन गाइएको छ । 

युनेस्को काठमाडौंले शनिवार बैतडीमा आयोजना गरेको सामाजिक मूल्य मान्यतासँग जोडिएका सीप, प्रविधि र कलाको अनुभव आदानप्रदान कार्यक्रममा सहभागी पुराना पिंढीले नयाँ पुस्तालाई फाग, सगुन र हुड्को बजाएर आफ्नो अनुभव साटेका हुन् । 

अन्तरपुस्ता अनुभव साट्न स्थानीय संस्कृतिका जानकार शिक्षक जयराज भट्टले फाग, सगुन र भलौलो गाउँदा गणेश दमाईले हुड्को बजाएर सङ्ग्राम कार्कीको भडाहा गाएर सुनाउनुभयो । कार्यक्रममा दशरथचन्द नगरपालिकाका नयाँ र पुराना पुस्ताका ३० जना सहभागी हुनुहुन्थ्यो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक खगेन्द्रसिंह धामी, युनेस्कोका कार्यक्रम अधिकृत इन्दिरा खड्का बुढाथोकी, नेपाली कांग शिक्षा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थी, त्रिपुरासुन्दरीका पुजारी विष्णुदत्त लेखक, वीरेन्द्र माविका निमित्त प्रधानाध्यापक हर्कबहादुर चन्द, दशरथचन्द नगरपालिका–४, का वडा अध्यक्ष भानदेव भट्ट, फाग सगुनाका जानकारी सरस्वती भट्ट, नागरिक समाज बैतडीका अध्यक्ष गणेश ठकुराठीलगायत संस्कृत प्रेमीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा दशरथचन्द नगरपालिकाका शिक्षा शाखा अधिकृत हरिसप्रकाश भट्टले स्थानीय स्तरमा रहेको कला, सीप र ज्ञानलाई पुस्तान्तण गर्न स्थानीय भाषाको पाठ्क्रम तयार गरिएको बताउनुभयो । अनुभव साट्दै वीरेन्द्र माविका निमित्त प्रधानाध्यापक हर्कबहादुर चन्दले वैदिक ज्ञानलाई परिस्कृत गरी नयाँ पिंढीले बुझ्नेगरी पाठ्यक्रमा समावेश गर्न पहल गर्नुपर्ने बताउनुभयो । 

उहाँले, स्थानीय ज्योतिषसँग भएको ज्ञानलाई गणितका माध्यमबाट सरल भाषामा नयाँ पुस्तालाई पाठ्यक्रममै बुझाउन जरुरी भएको बताउनुभयो । कार्यक्रममा सहभागीले सामाजिक मुल्य मान्यतासँग जोडिएका स्थानीय खानाका परिकार, कला संस्कतिमध्ये देउडा, फाग, सगुन र हुड्केउली जोगाएर नयाँ पुस्तालाई सिकाउन जरुरी रहेको बताएका छन् । पुराना पुस्ताका अनुभव सुन्न र फाग सगुन सिक्न पाउँदा खुसी लागेको निरुकुमारी टेरले बताउनुभयो । 

उहाँले यस्ता कार्यक्रम स्थानीय सरकारले वडा र गाउँटोलमा आयोजना गर्नुपर्ने माग राख्नुभयो । स्थानीयको मागअनुसार आउँदा दिनमा अन्तरपुस्ता अनुभव आदानप्रदान गर्न वडाबाट आवश्यक बजेट बिनियोजित गर्ने दशरथ चन्द नगरपालिका –४ का वडा अध्यक्ष भानदेव भट्टले प्रतिबद्धता जनाउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर