नेभिगेसन मेनु

एउटै विद्यालयमा १३  जोडी जुम्ल्याहा https://www.himalkhabar.com/news/133605
सम्पादक:南亚网络电视
समय:2022-12-22 16:59

twins_students_1671686315

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-३ स्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा १३ जोडी जुम्ल्याहा अध्ययन गरिरहेका छन्।

नर्सरीदेखि कक्षा १० सम्म १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक भोजराज दाहालले बताए। “विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएको यस पटक नै हो, यो आफैंमा दुर्लभ संयोग हो,” दाहालले भने, “एउटै शैक्षिक सत्रमा १३ जोडी जुम्ल्याहा विद्यार्थी हामीसँग हुँदा गर्व लागेको छ।”

जुम्ल्याहा जन्म आफैंमा दुर्लभ भएको बताउँदै प्रधानाध्यापक दाहाल जुम्ल्याहा विद्यार्थी आफ्नो विद्यालयको गौरव भएको बताउँछन्। “एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा हुनु हाम्रा लागि दुर्लभ मात्रै होइन, ऐतिहासिक पनि हो,” उनी भन्छन्‚ “हामी यी नानी-बाबुको अध्ययन अध्यापनमा कुनै कमी हुन नदिने गरेर लागेका छौं।”

जुम्ल्याहा विद्यार्थी अध्यापन गराउँदै आएका शिक्षकसँग पनि फरक खालको अनुभव छ। जुम्ल्याहा विद्यार्थी एउटै कक्षामा रहेकाले उनीहरूमा सहकार्य प्रतिस्पर्धाको भावना रहेको विद्यालयका सामाजिक शिक्षक ईश्वर पौडेल बताउँछन्। उनीहरूको अनुहारमा एकरूपता भएकाले शिक्षक कहिलेकाहीं झुक्किने गरे पनि जुम्ल्याहा जोडीसँग व्यवहार गर्न सजिलो हुने पौडेल बताउँछन्। १३ जोडी जुम्ल्याहा विद्यार्थी अरू विद्यार्थी जस्तै पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहने गरेको उनले बताए।

कक्षा १० मा पढ्ने जुम्ल्याहा दाजु-बहिनी निहाल र निहारिका क्षेत्रीले जुम्ल्याहा भएर जन्मिन पाएकोमा गर्व लागेको बताउँछन्। एउटै कक्षाको पढाइ भएकाले घरमा अध्ययन गर्न सजिलो भएको भन्दै उनीहरू घरमा अभिभावकको माया बराबर पाउने गरेको बताउँछन्। कक्षा ८ मा पढ्ने रीतिका र रिया सापकोटा पनि जुम्ल्याहा हुन्। दिदीबहिनी, त्यसैमाथि एउटै कक्षामा अध्ययन गर्ने भएकाले कहिलेकाहीं साथी र शिक्षकशिक्षिकाहरू समेत झुक्किने गरेको अनुभव उनीहरूसँग छ। 

जुम्ल्याहा सन्तान जन्मिंदा शुरूका केही वर्ष हुर्काउन बढाउन समस्या भए पनि दुवै सन्तानले सँगसँगै प्रगति गरेको देख्दा भने खुशी महसूस हुने गरेको जुम्ल्याहा सन्तानका पिता कावासोती–२ का ऋषिकान्त सापकोटा बताउँछन्। जुम्ल्याहा सन्तानलाई आमाको दूध, पोषण लगायतका कुरा आवश्यक मात्रामा पुर्‍याएर शुरू शुरूमा हुर्काउन गाह्रो भए पनि हुर्किंदै गएपछि धेरै कुरा मेल खाने भएकाले उनीहरूलाई बुझ्न झनै सजिलो हुने सापकोटा बताउँछन्। “सँगै पढ्ने, सँगै खेल्ने, एकअर्काको भावना अरू बच्चाले भन्दा छिट्टै बुझ्ने भएकाले पनि रमाइलो लाग्छ,” उनले भने।

२०४६ सालमा स्थापना भएको उक्त विद्यालयले आफ्नो ३३औं वार्षिकोत्सवमा मंगलबार जुम्ल्याहा सन्तान र उनीहरूका अभिभावकलाई सम्मान गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर