
काठमाडौँ, असार ९ गते । चिया उद्योग बन्द भएको आठ दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ । सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको एसोसिएसन उपाध्यक्ष ज्ञानी लिम्बूले बताउनुभयो । इलाम–२ का प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङसहितको टोलीले सोमबार नेपाल सरकारका उद्योग, कृषि, वाणिज्यलगायतका मन्त्रालयमा पुगेर विकल्पसहितको ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा उद्योगीले भारतसँग केही संवाद र सहकार्य गर्न नसकिए तत्काल किसानको हरियो पत्ती नष्ट हुन नदिने वैकल्पिक उपाय उल्लेख गरेका छन् । ज्ञापनपत्रमा चाँडोभन्दा चाँडो भारतसँग कूटनीतिक पहल गरिनुपर्ने, अन्तर्राष्ट्रियस्तरको परीक्षण प्रयोगशाला नेपालमा नबनेसम्म भारत निकासी हुने चियालाई पुरानै (सिएफएल) ढङ्गले निकासी गर्ने वातावरण बनाइनुपर्ने, अहिले गोदाममा थन्किएको तयारी चिया बिक्री नभएसम्म उद्योगलाई बिनाब्याज ऋण दिएर उद्योग सञ्चालनको वातावरण बनाइनुपर्ने, तत्काल अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला परीक्षण केन्द्र स्थापना गर्नुपर्ने, चियालाई अर्गानिक उत्पादन गर्न चियाक्षेत्रलाई आवश्यक स्थानीय, प्रदेश र केन्द्रको बजेटसहित कानुन र ऐन संशोधन गर्नुपर्नेलगायतका बुँदा उल्लेख छन् ।
गएको मे १ देखि भारत जाने नेपाली चियामा कडाइ भएपछि आठ दिनयता इलाम, झापा, पाँचथरसहित देशभरका १०९ चिया उद्योग बन्द छन् । यसबाट दैनिक लाखौँ किलो किसानको हरियो पत्ती नस्ट भइरहेको छ ।


















